संसद खोल्ने बेलामा अध्यादेश ल्याउनु बिल्कुल गलत हो : जसपा नेता कर्ण

समाचार

12/15/2020

काठमाडौं, ३० मंसिर । सरकारले संवैधानिक परिषद्सम्बन्धी ल्याएको अध्यादेशबारे जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सांसद लक्ष्मण लाल कर्णले यो बिल्कुल गलत भएको बताएका छन् ।

उनले भने, ‘हामी संसदीय व्यवस्थामा छौं । संसदीय व्यवस्थामा कानूनको निर्माण संसदबाट हुनुपर्छ, अध्यादेशबाट देश चलाउनु हुँदैन । अध्यादेशबाट देश चलाउने हो भने त्यो बिल्कुल गलत सन्देश जान्छ, सरकारको अधिनायकवादी चरित्र देखिन्छ ।’

‘त्यसमा पनि अहिले संसद सुरु गर्नुपर्ने बेला हो । करिब–करिब ६ महिना ग्याप हुन लाग्यो । यो बेलामा संसद सञ्चालन गर्नुपर्नेमा संसदबाट बिल पास गर्नुपर्नेमा अध्यादेश ल्याएको यो राम्रो परपम्परा र राम्रो अभ्यास होइन । दोस्रो कुरा रहेछ भने पार्टीको विवादले यो अध्यादेश आएको देखिन्छ ।’ कर्णले मधेशवाणीसँग भने, ‘संवैधानिक परिषद्को बैठक गर्दा सभामुख उपस्थित भएन भन्ने कारण देखाइएको छ । सभामुख यदि बैठकमा गएन भने उहाँ पनि त्यहीं पार्टीका हुनुहुन्छ । एउटै पार्टीको बीचमा अहिले विवाद देखिएको छ, यो राम्रो होइन । पार्टीभित्रको विवाद लामो समयदेखि चल्दै आएको छ, त्यसले गर्दा देशमा कुनै प्रगति हुन सकेको छैन । यथाअवस्थामा देश छ, सरकारविरुद्धमा मान्छेहरु सडकमा आइरहेका छन्, विभिन्न किसिमका प्रदर्शनहरु भइरहेका छन् । यस्तो अवस्थामा पार्टी एक ढिक्का हुनुपर्नेमा पार्टीभित्र देखिरहेको संघर्षको असर यो विधेयकमा पनि देखिएको छ । यो कदाचित राम्रो होइन ।’

उनले भने, ‘अध्यादेश ल्याउँदा आफ्नै पार्टीभित्र छलफल भएको छैन भने अरु पार्टीसँग छलफल हुने कुरै आउँदैन । कुनै पार्टीसँग छलफल गरेर अध्यादेश ल्याउने होइन, संसदबाट अध्यादेश ल्याउनुपर्छ नि । अध्यादेशबाट कानून निर्माण हुन्छ । कानून निर्माणको पद्धति हामीले संसदबाट बनायौं । संसद नचलेको बेलामा ज्यादै अप्ठ्यारो परिस्थिति आयो भने मात्रै अध्यादेश ल्याउने हो । तर संसद खोल्ने बेलामा जुन अध्यादेश ल्याइयो, यो बिल्कुल गलत हो । त्यसमा पनि यो अध्यादेश पहिले पनि ल्याइएको थियो र सरकारले फिर्ता लिएको थियो । एकचोटि फिर्ता लिइसकेको अध्यादेश सरकारले फेरि त्यहीं कदम दोहो¥याइरहेको छ भने पार्टीले त यसलाई राम्रो मान्ने कुरै भएन । सरकार पार्टीले नै यसलाई राम्रो मानेको छैन भने हामी विपक्षले यसलाई स्वीकार गर्ने अवस्थै आउँदैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ