संसद विघटनको सिफारिस राष्ट्रघाती कदम : रवीन्द्र मिश्र

समाचार

12/20/2020

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर अनायास संसद विघटनको सिफारिश गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम रहेको विवेकशील साझा पार्टी जनाएको छ ।

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले एक विज्ञप्ति जारी गरी ‘यो संविधानमाथिको स्पष्ट ‘कू’ हो ।’ भनेका छन् ।
नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान गरेको छैन । संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई छ ।

‘सो अधिकारको प्रयोग नै नगरि निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेका छन् ।’ अध्यक्ष मिश्रले विज्ञप्तिमा भनेका छन्, ‘यो, लोकतन्त्रमा विरलै प्राप्त हुने झण्डै दुई तिहाई जनमतमाथिको निर्लज्ज घात हो र जनताले यसको बदला आउँदा निर्वाचनमा लिनेछन् भन्ने हामीलाई विश्वास छ ।’

प्रधानमन्त्री ओलीको किचेन क्याबिनेटका विश्वासिलो सहयोगीमा रूपान्तरित भएर राष्ट्रपतिको गरिमालाई नै बारम्बार गिराएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसपटक पदको गरिमा जोगाउन मन्त्रिपरिषदको सिफारिश सदर नगर्न विवेकशील साझा पार्टी जोडदार माग गरेको छ ।

बारम्बार अलोकतान्त्रिक, अनुदार व्यवहार गर्दै आएका प्रधानमन्त्री ओली बढ्दोरूपमा राष्ट्रघाती समेत देखिन थालेको आरोप मिश्रले लगाएका छन् ।

संसद विघटनको उनको सिफारिशका बारे संघीय संसदमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग तत्काल छलफल शुरू गर्न विवेकशील साझा पार्टी राष्ट्रपति भण्डारीसँग आग्रह गरेको छ ।

प्रधानमन्त्रीको यो राष्ट्रघाती कदमकाविरुद्ध आम नागरिकहरू एक जुट भएर विरोधमा उत्रिन र सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकवद्ध हुन पनि विवेकशील साझा पार्टी आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ