काठमाडौं, २६ फागुन । भारत सरकारको नेरु.३.५ करोड आर्थिक सहयोगमा ललितपुरस्थित जिल्ला सहकारी संघ लिमिटेडका लागि निर्माण गरिएको नयाँ सहकारी प्रवद्र्घन केन्द्र भवनको काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्यसी खम्पाले उद्घाटन गरेका छन् ।
नेपाल सरकारका पूर्वअर्थमन्त्री उदय राणा, सहकारी संघ लिमिटेड, ललितपुरका अध्यक्ष माधव दुलाल तथा संघका पदाधिकारी र जिल्ला समन्वय समितिका प्रतिनिधिहरुको उक्त समारोहमा उपस्थिति थियो ।
‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत निर्मित यस तीन तल्ले नयाँ भवनमा बहुउद्देश्यीय बेसमेन्ट, ग्राउण्ड र दोस्रो तल्ला छन् । पहिलो तल्ला खल्ला बजारका लागि प्रयोग गरिने छ ।
दोस्रो तल्लामा कार्यालय एवम् प्रशिक्षण कक्ष, बहुउद्देश्यीय हल, एउटा स्रोत केन्द्र तथा चमेना गृह रहनेछ भने बहुउद्देश्यीय बेसमेन्टको एउटा खण्डमा पार्किङ्गको सुविधा हुनेछ । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत रहेको छ र यसको कार्यान्वयन जिल्ला समन्वय समिति, ललितपुरले गरेको हो ।
सन् २००३ यता भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ जसमध्ये ललितपुर जिल्लाका ९ वटा परियोजनासहित ८४ वटा परियोजना प्रदेश नं ३ मा रहेको छ ।
यी बाहेक भारतीय राजदूतावासले ललितपुर जिल्लाका विभिन्न स्वास्थ्यचौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई १८ वटा एम्बुलेन्स र ९वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।
सन् १९७२ मा स्थापित यस सहकारी संघ लिमिटेडको सदस्य समाजको रुपमा ७६५ वटा सहकारी रहेका छन् भने तीन लाख पचास हजारभन्दा बढी सदस्यता रहेको छ ।
यस सहकारी संघको मुख्य उद्देश्य भन्नु नै सदस्य सहकारीको गतिविधिको नेतृत्व, समर्थन, समन्वय र प्रवद्र्घन गर्नुका साथै खेती किसानी गर्ने समुदायको विकास एवम् सुदृढीकरण गर्नु हो ।
यस नवनिर्मित सहकारी प्रवद्र्घन केन्द्रले सहकारी तथा यसका किसान सदस्यहरुको बजारीकरण क्षमता बढाउने अपेक्षा गरिएको छ । यसका साथै यसले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
कृषिजन्य उत्पादनको बजारीकरणमा विशेष रुचि राख्ने व्यक्तिहरुका लागि सो भवनले सूचना केन्द्रको रुपमा पनि काम गर्ने विश्वास लिइएको छ ।
भारत नेपालको भरपर्दो विकास साझेदारको रुपमा रहेको छ । यस परियोजनामार्फत कृषि बजारीकरण क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा भारतीय राजदूतावासले थप बल प्रदान गरेको छ ।
गत दुई वर्षमा भारतले ५९ जना कृषि वैज्ञानिक, किसान, जैविक खेती, माटो परीक्षण र मलखाद विज्ञानजस्ता क्षेत्रमा आबद्घ कृषि क्षेत्रका नीति निर्माणकर्तालाई दिल्लीको National Capital Region को शीर्षस्थ भारतीय कृषि केन्द्रहरुमा प्रशिक्षण दिइसकेको छ ।
दुवै देशका सरकारले नेपालमा नमुना पशु अस्पताल र पशु प्रयोगशाला स्थापना गर्ने बारे काम पनि गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया