१९औँ सार्क शिखर सम्मेलन चाँडो गर्न नेपालको आह्वान

समाचार

9/25/2020

काठमाडौं, ९ असोज । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) को शिखर सम्मेलन चाँडो गर्न आह्वान गरेका छन्।

सार्क मुलुकका विदेशमन्त्रीहरुको भर्चुअल बैठकमा ज्ञवालीले यो क्षेत्रीय संगठनलाई गतिशील बनाउने विकल्पहरुको खोजी गर्न सदस्य मुलुकहरुसँग आग्रह गरेका हुन् ।

सार्कको अध्यक्षको हैसियतले नेपालले यो बैठकको आयोजना गरेको हो। संयुक्त राष्ट्र संघको महासभाको समयमा न्युयोर्कमा सार्कका विदेशमन्त्रीहरुको बैठक आयोजना गर्ने चलन छ ।

यसवर्ष कोरोनाको महामारीको कारण राष्ट्र संघीय महासभा भर्चुअल माध्यमबाट भएको हो । त्यसैले सार्कका विदेशमन्त्रीहरुबीच पनि भर्चुअल बैठक भएको हो ।

बैठकमा उद्घाटन भाषण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सार्कको १९ औँ सम्मेलन चाँडो गर्न आग्रह गरे । ‘सार्कलाई परिणामुखी क्षेत्रीय संगठन बनाउने र दक्षिण एसियाका जनताको जीवनमा देखिने परिवर्तन ल्याउनसक्ने बनाउन परराष्ट्रमन्त्रीले जोड दिनुभयो,’ बैठकपछि परराष्ट्र मन्त्रालयले भनेको छ, ‘उहाँले सबै सदस्य राष्ट्रहरुलाई १९ औं सम्मेलन चाँडै गर्ने र सार्कलाई गतिशील बनाउन आवश्यक सबै विकल्पहरुमा खोज्न आग्रह गर्नुभयो ।’

बैठकमा भारतका विदेशमन्त्री एस जयशंकरसहित सार्कका सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको उपस्थिति थियो । बैठकमा पाकिस्तानी अधिकारीको सहभागिता रहे पनि विदेशमन्त्री शाह महमुद कुरेसीको भने रेकर्डेड भिडियो सन्देश प्रसारण गरिएको थियो ।

सन् २०१६ मा इस्लामावादमा तय भएको सार्क शिखिर सम्मेलन पाकिस्तानले सीमापार आतंकवाद बढाएको भन्दै भारतले बहिष्कार गरेको थियो । सार्कमा एक सदस्यले बहिस्कार गरेमा शिखर सम्मेलन नहुने व्यवस्था छ ।

बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले आतंकवाद र राष्ट्रिय सुरक्षाको चुनौती क्षेत्रीय सहकार्यका बाधक भएको बताएका थिए । बैठकमा उनले भारतको छिमेक पहिलो भन्ने नीतिलाई दोहो¥याएका थिए । कोभिड १९ तथा अन्य विषयाम भारतले सार्कका विभिन्न देशलाई दिँदै आएको सहयोगका सूची पनि उनले प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ