जनकपुरधाम, ९ कार्तिक । संघीय खानेपानी तथा आयोजना कार्यालय जनकपुरका कर्मचारी ईन्जिनियर राजेश्वर कुशवाहामाथि दुर्व्यवहार गरिएको विरुद्धमा कर्मचारीहरू आन्दोलित भएका छन् ।
गत साता जनमत पार्टीको अगुवाईमा ई.कुशवाहालाई कार्यालयमै कालोमासोसहित दुर्व्यवहार गर्दै घुमाइएको थियो ।
त्यसको विरुद्धमा आधिकारिक ट्रेड युनियनले प्रदेश २ भरि नै एक सातासम्मको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको नेपाल मधेशी निजामती कर्मचारी मञ्चका महासचिव बेचन महतोले बताएका छन् ।
राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार गर्नेहरुमाथि कारबाही नभएसम्म आन्दोलन जारी राखिने महतोले बताएका हुन् ।
महतोका अनुसार कर्मचारीहरुले पेनडाउन सुरु गरेको छ र दिनभरि हातमा कालोपट्टि बाँधेर कार्यालयमा काम गर्नेछन् । पेनडाउन प्रत्येक दिन एक घण्टा बढ्दै जाने उनले मधेशवाणीलाई बताएका हुन् ।
एक सातासम्म पेनडाउन गर्ने र कालोपट्टी बाँधी विरोध जनाउने बताउँदै महतोले भने, ‘कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही भएन भने अझ सशक्त आन्दोलनको कार्यक्रम घोषणा गर्नेछौं ।’
तपाईको प्रतिक्रिया