बाँके, ३० साउन । बाँकेको नरैनापुर गाउँपालिकामा रहेका मदरसा र विद्यालयमा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्यामा अप्रत्याशित वृद्धि भएको छ ।
नरैनापुर गाउँपालिकाले सबैको शिक्षामा पहुँच भन्ने उद्देश्यका साथ सुरु गरेको बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालयसम्म आउने वातावरण तयार भएको नरैनापुर २ का वडा अध्यक्ष मसुद अहमद शाहले बताए ।
वडा अध्यक्ष शाह सोमबार मदरसाको अनुगमन गरेपश्चात भने, ‘नरैनापुरमा विद्यालय भर्ना अत्यन्तै न्यून हुने अवस्था देखे पछि दिवा खाजा कार्यक्रम लागू गरिएको छ ।’
नरैनापुरमा विद्यालय बाहिर रहेका विद्यालय जाने उमेरका करिब ४० प्रतिशत विद्यार्थीहरूमध्ये दिवा खाजा सञ्चालन भएपछि ३५ प्रतिशत जति विद्यालयमा भर्ना भई नियमित विद्यालय आउने गरेको वडा अध्यक्ष शाहको भनाई थियो ।
नरैनापुर–२ लक्ष्मणपुरमा रहेको मदरसा सिराजिया इसरारुल उलूम लगायत नरैनापुर क्षेत्रमा दिवा खाजा कार्यक्रम संचालनमा आएपछि मदरसा लगायत विद्यालयमा विद्यार्थीको उपस्थितिमा उल्लेख्य रूपमा वृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए ।
उनले भने, ‘विद्यालयमा विद्यार्थी भर्ना हुने र विद्यालय नआउने परम्परा रहेको थियो । तर, अहिले दिवा खाजाले मदरसा र विद्यालयका कक्षा कोठा भरिभराउ छन् । प्रायः सबै विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । नयाँ जो विद्यालय बीच मै छोडेकाहरू पनि पुनः विद्यालय भर्ना भएर आउन थालेका छन् ।
उनले दिवा खाजा कार्यक्रमको प्रभावका कारण पछिल्लो समयमा विद्यार्थीको नयाँ भर्नाको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको बताए ।
यस्तै नरैनापुर–४ मा रहेको मदरसा अरविया गुल्सने वारिस उन्मतुलुममा पनि अचेल विद्यार्थीको बढ्दै गएका छन् । कक्षा ३ सम्म सञ्चालनमा रहेको यस मदरसामा ३०७ बालबालिका अध्ययनरत छन् । अत्यन्तै न्यून विद्यार्थी रहेको मदरसामा दिवा खाजा कार्यक्रमले चमत्कार नै गरेको मदरसाका प्रधानाध्यापक अब्दुल रहमान खाँले बताए ।
नरैनापुर गाउँपालिकामा रहेका सामुदायिक विद्यालय तथा मदरसा गरी ४७ वटा र विद्यालय बाहिर सञ्चालनमा रहेका तीनवटा बालविकास केन्द्रमा गरी ५० विद्यालय मदरसामा दिवा खाजा सञ्चालनमा रहेको नरैनापुर गाँउपालिकाका इश्तियाक अहमद शाहले जानकारी दिए । नरैनापुर गाउँपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेर काम गरी रहेको छ ।
तपाईको प्रतिक्रिया