काठमाडौं, २ भाद्र । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निबन्धात्मक भएको टिप्पणी गरेका छन् ।
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै त्रिपाठीले सो टिप्पणी गरेका हुन् ।
उनले विधेयकका कुन दफा संविधान विपरीत छ भन्ने नसकेको भने, ‘संविधान अनुसार यो विधेयक यहाँ अमान्य छ भन्ने पाएको भए एक ढंगले छलफल अगाडि बढ्थ्यो होला । त्यो नपाएको हुनाले बढी निबन्धात्मक जस्तो लाग्यो ।’
राष्ट्रपतिले कतिपय अतितका कुरा गरेको भन्दै उनले भने, ‘२०३२ सालको नागरिकता ऐनमा एउटा व्यवस्था गरिएको थियो, किन छोटै समयमा पुनरावलोकन गरियो ? यस विषय पनि राष्ट्रपतिको सन्देश छ । यो कसरी टुंग्याउने ? त्यसका पात्रहरू पृथ्वीमा छैनन्, डकुमेन्टले अर्कै बोल्छ ।’
जन्मका आधारमा नेपाली नागरिकता लिएका आमाबाबुको सन्तानले ७ वर्षदेखि नागरिकता पाउन नसकेकाले यो विधेयक छिटो ल्याउनु परेको उनले बताए ।
उनले अघि भने, ‘यदि लैगिक समानता खोजेको हो भने संविधानको धारा ११ (२) को (ख) कार्यान्वयन गर्ने कि नगर्ने ? त्यसमा किन नबोल्ने ?’
तपाईको प्रतिक्रिया