जनकपुरधाम, ३ भाद्र । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउन लागेको छ । भाद्र ११ गते भारतीय पर्यटक रेल आउन लागेको हो ।
जयनगर–जनकपुर–कुर्था रेलमार्गमा नियमित रेलसेवा सञ्चालन भएपछि पहिलो पटक गत असार ९ गते करिब छ सयको संख्यामा भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ आएको थियो । दोस्रो पटक पनि ठूलो संख्यामा भारतीय पर्यटक लिएर आउन लागेको हो ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाको पहलमा रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलसेवामार्फत भारतीय धार्मिक पर्यटक दोस्रो पटक जनकपुरधाम आउन लागेका हुन् ।
भारतको राजधानी नयाँ दिल्लीलगायतका सहरबाट भारतीय पर्यटकलाई जनकपुरधामसम्मको यात्रा गराउने आफ्नो निरन्तरको पहलमा दोस्रो पटक आगामी भाद्र ११ गते शनिबार ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउन लागेको महाप्रबन्धक झाले जानकारी दिएका छन् ।
महाप्रबन्धक झाले पर्यटकको स्वागतको तयारीमा जुटेको बताए । सो रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले जानकारी दिएका हुन् ।
भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो ‘भारत गौरव पर्यटक रेल’मा करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आउने र सो दिन पर्यटकले जनकपुरधामको विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको महाप्रबन्धक झाको कथन छ ।
उक्त रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूपी झल्को देख्न सकिने चित्र राखिएको छ ।
युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदास्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवद्र्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगलकालीन प्राचीन संरचनालगायत गुजरातमा अवस्थित स्टैच्यु अफ युनिटी, दिल्लीमा रहेको नेशनल बार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्विरले सजाइएको जनाएको छ ।
तपाईको प्रतिक्रिया