भगवान गणेशको पूजा गरी गणेश चतुर्थी मनाइँदै

समाचार

काठमाडौँ, १५ भदौँ । प्रथम पूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्मभएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेश चतुर्थी पर्व मनाइएको हो ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले आज चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउने गरेकामा यस वर्ष भने तिथिको घटबढका कारण मङ्गलबार नै मनाइएको छ । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ