धनुषा २ मा लोसपाबाट पूर्वमन्त्री अरगरिया सिफारिस

समाचार

जनकपुरधाम, १९ भाद्र । आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया उम्मेदवार सिफारिस भएका छन् ।

लोसपा धनुषा क्षेत्र नं. २ को क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि अरगरियाको एकल नाम सिफारिस गरेको हो ।

०७४ मा अरगरिया झण्डै १४ हजार मतान्तरले निर्वाचित संघीय सांसद हुन् ।

तत्कालीन संघीय समाजवादी फोरमको तर्फबाट ३२ हजार ४४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेसँग गठबन्धन गरेका नेकपा माओवादी केन्द्रका रामचन्द्र झा मात्र १८ हजार ७१५ मत पाएका थिए ।

काँग्रेसका उम्मेदवार रामकृष्ण यादव १५ हजार ४४२ मत ल्याएका थिए ।

अहिले झा नेकपा एकिकृत समाजवादीमा छन् । र उनी पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् । त्यस्तै काँग्रेसबाट यो पटक पनि यादव नै उम्मेदवार सिफारिस भएका हुन् ।

जसपाले उपेन्द्र यादवलगायतका नेतालाई उम्मेदवार सिफारिस गरेको छ । नेकपा एमालेबाट अहिलेसम्म उम्मेदवार सिफारिस भएको छैन ।

यो क्षेत्रमा सत्ता गठबन्धनमा आवद्ध दलमध्ये कुनै एकले मात्र उम्मेदवारी दिए पनि लोसपाका अरगरियालाई हराउन चुनौती देखिएको छ ।

पटक पटक सांसद बनेकाहरुको तुलनामा अरगरियाले यस क्षेत्रमा बढी विकास गरेकाले मजबुत पक्कड बनाएको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ