सप्तरी, २१ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेशसभा सदस्य उम्मेद्वारका लागि सप्तरी निर्वाचन क्षेत्र नं. २ (क) बाट नेपाल मधेशी निजामती कर्मचारी मञ्चका संस्थापक अध्यक्ष विनोद कुमार सिंह सिफारिस भएका छन् ।
मंगलबार बसेको निर्वाचन क्षेत्रस्तरीय समितिले सिंहलाई प्रदेशसभा सदस्य उम्मेद्वारको रुपमा सिफारिस गरेको हो ।
प्रथम मधेश विद्रोहका बेला निजामती सेवामा कार्यरत् मधेशी कर्मचारीहरुलाई संगठित गर्ने उद्देश्यका साथ सिंहले मधेशी निजामती कर्मचारी मञ्चको स्थापना गरेका थिए ।
सो मञ्चले मधेश आन्दोलनमा सक्रिय र महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सिंहको नाम प्रदेशसभा सदस्य उम्मेद्वारका लागि सिफारिस भएपछि मधेशी कर्मचारीहरु उत्साहित भएका छन् ।
मञ्चको सप्तरीका अध्यक्ष अजय कुमार झा भन्छन्, ‘सिंह जस्तो जुझारु र इमान्दार व्यक्तित्व प्रदेशसभाका लागि सिफारिस हुनु एकदमै सकारात्मक र परिवर्तनको सन्देश दिएको छ ।’
मधेशवादका प्रणेता स्व.गजेन्द्र नारायण सिंहको पालादेखि मधेश, आदिवासी जनजाति, उत्पीडित समुदायको अधिकार प्राप्तिको आन्दोलनको आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् सिंह ।
तपाईको प्रतिक्रिया