धनुषा महोत्तरी चुनाव विशेष : तमलोपाको वृषेश र डा. विजय उम्मेदवार हुने सम्भावना

समाचार

जनकपुरधाम, १० असोज । धनुषा र महोत्तरीको चुनावी माहौल तातिंदै गएको छ । खासगरी धनुषाको ३, महोत्तरीको ३ र महोत्तरीको २ बढी चर्चामा छ ।

धनुषाको ३ बाट बिमलेन्द्र निधिको बहिर्गमनपछि जागरुक मतदाताहरुमा शून्यताको स्थिति महशूस भइरहेको देखापरेको छ ।

खास गरी लोकतान्त्रिक विचारधारप्रति समर्थन गर्नेहरू सबै परिवर्त्तनकारी आन्दोलनहरुको अग्रस्थान जनकपुरबाट यहाँको संघर्ष, लोकतान्त्रिक विचार, मधेशका मुद्दाहरूको प्रतिनिधित्व गर्ने खालका उम्मेदवारहरू आगाडि नआउनुले चिन्तित देखिन्छन् । बुद्धजीवीहरुले यसो हुनुको कारण मतदाताहरुमा पैसा, जात, धर्मको भित्रैदेखिको प्रभावलाई मान्द्छन् ।

यसै सन्दर्भमा एक जना प्राध्यापकले, “सधैंभरि नेतालाई मात्र गाली गरेर हुँदैन नि ! हामी मतदाताले नेताहरुसंग सबैथोक लिन चाहन्छौं तर मत दिने बेलामा पैसा, जात, धर्म, नाताबाट प्रभावित रहन्छौं भने कसरी हुन्छ ? अहिले एउटा चुनाव लड्न ५–१० करोड चाहिने भएको छ । कुन चाहिं असल व्यक्ति त्यति रकम फाल्न आगाडि आउँछ ? अवैध पैसा कमाउने बाहेक कोही आउँदैन ।“

धनुषा ३ मा बिलेन्द्र निधि यिनै कारणबाट पछि हटेको मानिसहरु बताउँछन् । “बिमलेन्द्र निधिसंग विगत चुनावहरुमा प्रतिस्पर्धा गर्नेहरू पनि गतिला हुँदैन्थ्ये । तर, त्यै पनि जनता त्यस्तैलाई नै मत दिने गर्थे ।“ – कमल कुमार बिजुली मिस्त्रीले आफ्नो कुरा राख्दछन् ।

यस क्षेत्रको जनतामा नकारात्मक र बिरोध गर्ने प्रवृति बढी रहेको चेतनशील र तटस्थ खालका नागरिकहरूको भनाई छ । वृषेशचन्द्र लाल, शीतल झा, डा. विजय कुमार सिंह, बिनोद शर्मा संघर्षशील व्यक्तिहरू आगाडि आउनु पर्थ्यो तर मतदाताको माहौल हेरेर उनीहरू यस तर्फ सोचिरहेका छैनन् भन्ने कुराहरु सुनिन थालिएको छ । अहिले चर्चामा रहेका व्यक्तिहरुबारे जनतामा राम्रो प्रभाव देखिंदैन ।

राम सुभग राउत भान्दछन् –“ यी सबै अवैध पैसा कमाएका छन् । अब माननीय बन्न चाहन्छन् । राम्रो मान्छेको कदर नभएपछि यस्तैहरुको बिगबिगी बढेको छ । कति बालेनको उदाहरण दिएर स्वतन्त्र बन्ने कुरा गर्दैछन् ।“ जनताको प्रतिनिधि राजनीतिक व्यक्ति नै हुनु पर्दछ भन्ने सोच बढ्दै गइरहेको देखिन्छ । धनुषा ३ को झुकाव अहिले सफा हुन समय लाग्ने देखिन्छ ।

महोत्तरी ३ मा महन्थ ठाकुर प्रति ठूलो आक्रोश छ । उनका भ्रष्टाचारी सहयोगीहरुबारे जनतामा ठूलो असन्तुष्टि छ । महन्थ ठाकुरले उनीहरूलाई सहयोग गरेको र योग्य संघर्षशीलहरुलाई पाखा लगाएको, व्यक्तिवादी भएको आरोप लगाउँदछन् । ठाकुरले मधेशको एजेन्डा फालिसकेको र केपी ओलीको सहयोगी बन्न पुगेको समेत ठूलो आरोप छ ।

राष्ट्रीय सभामा अत्यन्त प्रभावशाली काम गर्ने वृषेश चन्द्र लालको स्थानमा ठाकुर, महतो, शरद भण्डारी मिलेर सीट नै साढे २ करोडमा बेचेको आरोप पनि चर्चामा छ । त्यसको अडियो समेत सार्वजनिक भइसकेको छ । महोत्तरी ३ मा महन्थ ठाकुरको विकल्पको खोजी भइरहेको छ ।

वृषेश चन्द्र लालबारे चर्चा रहेको धबौलीका बिजय मिश्र र रवि वर्मा बताउँदछन् । “वहाँले हिम्मत गर्नु पर्दछ । चुनाव खाली पैसाले नै लडिंदैन । यस पाली जनताले अवश्य सोच्ने छ । जनता बौद्धिक र मधेश मुद्दा खोज्ने व्यक्ति खोजिरहेको रवि वर्मा भन्दछन् ।

महोत्तरी २ मा काँग्रेसको किरण यादव र तमलोपाको वरिष्ठ नेता डा. विजय कुमार सिंहको चर्चा छ । शरद भण्डारी नीकै पछाडि देखिन्छन् । किरण र विजय बीच टक्कर हुने अनुमान छ । डा. विजय कुमार सिंहले उम्मेदवार हुने औपचारिक घोषणा नगरे पनि तमलोपाका कार्यकर्ताहरु भने प्रचारमा लागिसकेको देखिएको छ ।

यी सबका बारेमा तमलोपाको अध्यक्ष वृषेश चन्द्र लालसंग प्रश्न गर्दा तमलोपा मधेश आन्दोलनको मशाल जोगाउन आगाडि आएको बताउँछन् ।

“अहिले देशमा सबै तिरबाट दुईटा पार्टी मात्र रहन दिने षडयन्त्र भइरहको र गठबन्धनको राजनीति यसैको नौटन्की हो । समानुपातिक निर्वाचन प्रणालीलाई धारासायी पारिंदै छ ।“ उनले गुनासो गरे, “मधेशीहरु राजनीतिक शक्तिको रुपमा संगठित हुन थालेपछि सबैको छाती पोलेर मधेश केन्द्रित दलहरुलाई खत्तम गर्ने प्रयास भयो ।“

उपेन्द्र यादव र ठाकुरजी क्रमशः प्रचण्ड र ओलीको षडयन्त्रमा परे भन्ने दुखेसो पोख्दै मधेशमा छुट्टै लोकतान्त्रिक फ्रन्ट नै मधेश आन्दोलनको मशाल जोगाउन सक्ने र मधेशीको बराबरीको संघर्षलाई आगाडि बढाउन सक्ने माथि उनले जोड दिए ।

तपाईं निर्वाचनमा उठ्नु हुन्छ ? विजयजी उठ्नु हुन्छ ? भन्ने प्रश्न गर्दा लालले, “हामी निर्वाचनमा भाग लिन्छौं । तमलोपा नया भएपनि उसको आगाडि चुनौती छ । चुनावी खर्च सबभन्दा ठूलो बाधा हो । तर, साथीहरुको दबाब छ । सोच्दै छौं । हेरौं पार्टीको के निर्णय हुन्छ ?“ भन्नु भयो । लालले तमलोपाले योग्य, संघर्षशील र मधेश मुद्दाप्रति समर्पण भएको युवा पीढीको उम्मेदवारहरुको खोजीमा रहेको कुरामा जोड दिनु भयो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ