सर्लाही क्याम्पसको स्ववियु निर्वाचन बदर गर्न लोविसंघको माग

समाचार

सर्लाही, ९ चैत । सर्लाही क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बदर गर्न लोकतान्त्रिक विद्यार्थी संघले माग गरेको छ ।

लोविसंघको सर्लाही जिल्ला कार्यसमितिको जिल्ला अध्यक्ष आकाश कुमार यादवका अनुसार चैत ५ गते सर्लाही क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नियम र त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका, २०७९ विपरीत भएको भन्दै निर्वाचन बदरको माग गरेको हो ।

लोविसंघका जिल्ला अध्यक्ष यादवले बुधबार एक विज्ञप्ति जारी गर्दै सर्लाही क्याम्पसले आफू खुशी आफ्नो मनोमानी गरि विद्यार्थी संगठनलाई निरुत्साहित र सखाप नै पार्ने बदनियतले सर्लाही क्याम्पस प्रशासन र सर्लाही क्याम्पस, निर्वाचन समितिले समानुपातिक निर्वाचन प्रणालीको बेवास्ता गर्दै सबै पदमा प्रत्यक्ष निर्वाचन गराएको आरोप लगाएका छन् ।

त्रिविले उक्त क्याम्पस प्रशासनलाई ६ सिटमा प्रत्यक्ष र ५ सिटमा समानुपातिक निर्वाचन प्रणाली अपनाउन निर्देशन दिएको थियो ।

‘समानुपातिक निर्वाचनका लागि दर्ता भएका संगठनहरूको नाम उल्लेखित मतपत्र बनाउनुपर्ने थियो र निर्वाचित या पराजित भएका उम्मेदवार पनि कुन संगठनका हुन् भन्ने खुलाउनुपर्ने थियो। साथै प्रत्यक्षमा पराजित संगठनले पनि आफ्नो प्रतिनिधित्व समानुपातिक हिसाबले स्ववियुमा गर्न सक्थ्यो तर क्याम्पस प्रशासन र सर्लाही क्याम्पस, निर्वाचन समितिले आफू खुशी मात्र प्रत्यक्ष तर्फको निर्वाचन गर्न लगाई विद्यार्थी संगठनलाई कमजोर गर्न मनस्थिति बनाएको हुँदा मात्र प्रत्यक्ष तर्फको निर्वाचन गरायो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तै फाल्गुन ३० गते त्रिवि को तालिका विपरीत मनोनयन दर्ता, चैत्र १ गते अन्तिम उम्मेदवारीको नामावली प्रकाशन गरि त्रिविको निर्वाचन तालिका अनुसार संगठनलाई प्रचारप्रसार गर्न समय नै नदिई सिधा निर्वाचन तर्फ ढकलेको थियो ।’

लोकतान्त्रिक विद्यार्थी संघ र लोकतान्त्रिक पक्षधरका सम्पूर्ण विद्यार्थीहरु यस निर्वाचनको परिणामलाई बहिस्कार गर्दै निर्वाचन खारेजी सहित तत्काल बदर गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको विद्यार्थी नेता मिथलेश यादव अनुसार विद्यार्थी संगठनहरुको लामो संघर्ष र आन्दोलनको उपलब्धिबाट संसदीय निर्वाचनमा समानुपातिक पद्धतिलाई ध्यानमा राख्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन त्रिभुवन विश्वविद्यालयले ०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली लागू गरेको थियो । प्रत्यक्ष र समानुपातिक प्रणालीबाट विद्यार्थीका संख्याको आधारमा स्ववियु कार्यसमिति बन्ने व्यवस्था रहेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका, २०७९ अनुसार ३००१ देखि ५००० सम्म विद्यार्थी संख्या रहेको क्याम्पसमा ११ जना सदस्यीय निर्वाचित कार्यसमिति हुने छ । निर्देशिका अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष प्रत्यक्षबाट चुनिने छन् भने उपाध्यक्ष र सह–सचिवका लागि दोस्रो चरणको मतदान अर्थात् समानुपातिक निर्वाचन हुनेछ ।

पूर्ण कार्यसमिति बनेपछि कार्यसमिति बाटै उपाध्यक्ष र सह–सचिवका लागि दोश्रो चरणको मतदान गरी छनोट गरिने छ । त्यसअनुसार पदाधिकारी पाँच जनाको पदाधिकारीमा ३ प्रत्यक्ष दुई समानुपातिक हुनेछन् ।

सदस्यमा प्रत्यक्ष र समानुपातिक गरी ५०÷५० प्रतिशत आउने छन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा जारी गरिएको निर्देशिका अनुसार समानुपातिक तर्फका लागि त्यस क्याम्पसमा दल दर्ता भएका संगठनले नाम पेश गर्नुपर्ने हुन्छ । प्रत्यक्षमा व्यक्तिलाई मत प्रदान गरिने छ भने समानुपातिक तर्फ विद्यार्थी संगठनलाई मत दिने व्यवस्था छ ।

समानुपातिक पद्धतिमा जुन संगठनले बढी मत पाउँछ उसकै कार्यसमितिमा सदस्य बढी पर्दछन् । स्ववियु निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकका लागि फरक फरक मतपत्र प्रयोग गरिने छ ।

त्यस्तै त्रिवि अनुसार समानुपातिक प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको समय फागुन २७ (शनिबार) गते बिहान ११ बजेदेखि दिउँसो २ बजेका लागि निर्धारण गरिएको छ भने शुक्रबार मनोनयनपत्र वितरण गरिने ब्यवस्था मिलाइएको थियो ।

फागुन २८ गते उम्मेदवारको नामावली माथि दाबी–विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय निर्धारण गरिएको थियो । विद्यार्थी संगठनले प्रचार–प्रसार गर्नको लागि ४ दिनको समय तोकिएको थियो ।

फागुन २९ गतेदेखि चैत २ गते मध्यरातिसम्म प्रचार प्रसारको समय त्रिविले नै निर्धारण गरेको थियो। तसर्थ क्याम्पस प्रशासन र सर्लाही क्याम्पस निर्वाचन समितिले कानुन र नियम विपरीत गराएको यस निर्वाचनलाई बदर गर्नु पर्छ भन्दै आफ्ना भनाइ राखेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ