काठमाडौं, १४ चैत । काठमाडौंकेन्द्रित आन्दोलन थालेका मिटर ब्याजपीडितहरुको समस्या समाधानका लागि मधेश प्रदेशका निर्वमान प्रदेश प्रमुख डा.राजेश अहिराजले राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण गराएका छन् ।
मंगलबार मिटर ब्याजपीडितहरु प्रदर्शन गरिरहेको स्थलमै पुगेर डा.अहिराजले समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराइदिन राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।
‘मिरब्याजपीडित नागरिकहरूको समस्या यथाशीघ्र सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराइदिन अनसनस्थल (काठमाडौं)बाटै सम्माननीय राष्ट्रपतिज्यूलाई आग्रह गर्दछु ।’ डा.अहिराजले भनेका छन् ।
गणतन्त्र र संघीयतालाई संस्थागत गर्न नागरिकहरूको भूमि, भावना र भविष्य अनिवार्यरूपमा सुरक्षित हुनुपर्ने धारणा उनले राखेका थिए ।
उनले भनेका छन्, ‘संविधानप्रति आदर र सरकारप्रति विश्वास कायम हुन सके मात्र गणतन्त्र साझा हुन सक्छ । प्रदेशभित्र देखिएका समस्याहरूमा प्रदेश सरकार गम्भीर नहुनु र पीडितहरू पनि प्रदेश सरकारमाथि अपनत्व महसुस गर्न नसक्नु चिन्ताको विषय हो । नागरिकहरूलाई आफ्नो समस्याको समाधान खोज्न संघीय राजधानी काठमाडौंमै धाउनुपर्ने, गुहार लगाउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि पनि प्रदेश र स्थानीय तहको सरकारलाई गम्भीर हुन जरूरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन पनि प्रदेश र स्थानीय तहको सरकारलाई नागरिकप्रति विशेष गम्भीर भई समस्या समाधान हेतु सक्रिय भूमिका निर्वाह गर्न सके पीडितहरू आ–आफ्नै थातथलोमा न्यायको अनुभूति गर्न पाउँछन् ।’
तपाईको प्रतिक्रिया