प्रादेशिक अस्पतालमा मुख्यमन्त्री आकस्मिक अनुगमन

समाचार

जनकपुरधाम, १५ चैत । मुख्यमन्त्री सरोज कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधामको सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा बाधक हुने जो कोहीलाई कारबाही हुने चेतावनी दिएका छन् ।

उनले मंगलबार राति जनकपुरधाम प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन गर्ने क्रममा यस्तो चेतावनी दिएका हुन् ।

अस्पतालको ल्याबमा कार्यालय सहयोगीले जाँच गरेको खबर आएदेखि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको सेवा प्रवाह सुधार गर्न अग्रसरता एवम् तदारुकता देखाएका छन् ।

उनले मंगलबार राति ११ बजेतिर प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक लगायत अन्य कक्षको अनुगमन गरे ।

अनुगमनको क्रममा ड्युटीमा रहेका चिकित्सक र कर्मचारीहरुलाई बिरामीको उपचारमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने बताउँदै सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिए ।

यसअघि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल जनकपुरधामको अनुगमन गर्ने क्रममा अनुपस्थित रहेका निर्देशक डा. प्रमोद कुमार यादवलाई कारबाही गरिसकेका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा अघिल्लो समय सेवा प्रवाहमा लापरबाही भएको जनगुनासो बढ्दै गएपछि मुख्यमन्त्री यादवले सेवा सुधारतर्पm पहल गरेका छन् ।

रेफर हाँस्पिटलको ट्याग हटाएर प्रादेशिक अस्पताल जनकपुरधाममा प्रभावकारी सेवा सुलभ तरिकाले उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री यादवले भने, ‘अस्पतालमा लापरबाहीको ठाउँ छैन ।’

चिकित्सकले लापरबाही गरे बिरामी कहाँ जान्छ, उनले भने, ‘डाक्टर भगवानको रुप हो भने व्यवहारमा उतारेर देखाउनुपर्छ । काम गर्न नचाह्ने डाक्टरसाबहरु अन्यत्र जान सक्नुहुन्छ,’ उनले भने, ‘सरकारी सेवा सुविधा लिने डाक्टर साबहरुले काम पनि सरकारकै गर्नुपर्छ ।’

प्रादेशिक अस्पतालले गुमाएको साख जोगाउनको लागि डाक्टरसहित अन्य कर्मचारीहरु पनि प्रतिबद्ध भएर काम गर्नुपर्छ, मुख्यमन्त्री यादवले भने ।

जनकपुर अंचल अस्पतालबाट प्रादेशिक अस्पताल हुँदै हाल नाम नफेरिएपनि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा छ ।

प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, रेक्टर डा. अंकुर साह र रजिष्टार डा. बिनोद यादवले हाल प्रादेशिक अस्पताल जनकपुरधामको व्यवस्थापन पक्ष हेर्दै आएका हुन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ