कैलाली, १६ असार । जिल्लाको सदरमुकाम धनगढीका छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–१ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर १३ ग्रामसहित सोही उपमहानगरपालिका–३ चटकपुरस्थित पसल गरी बस्ने डोटी बोगटान नगरपालिका–६ घर भएका २५ वर्षीय भिम बोगटीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला कारागार कार्यालय कैलालीमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेको व्यक्तिलाई भेट्न आएका बोगटीलाई प्रहरीले जाँच गर्ने क्रममा स्याम्पुको डिव्बाभित्र लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारेको हो ।
यसैगरी, धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–९ बस्ने २२ वर्षीय विशेष योगी र २३ वर्षीय रमेश जोशी रहेका छन् ।
उक्त स्थानमा खटिएको प्रहरीले सु.प.प्र.०१–००८ प ११०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया