नेपालगन्ज उपमहानगरको बजेट र नीति कार्यक्रम पारित

समाचार

नेपालगन्ज, २३ असार । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

नगरसभाको १३औँ अधिवेशनको दोस्रो बैठकबाट शनिबार बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।

नगर प्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भएको छ ।

समग्र नगर विकासका लागि वडा कार्यालयहरूसँगको सहकार्यलाई आत्मसाथ गर्दै चालू आर्थिक बर्ष जस्तै आगामी आर्थिक वर्षका लागि पनि २५ करोड रुपैयाँ सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले आन्तरिक आय १८ करोड र राजश्व÷अनुदान बचत मौज्दात २० करोड हुने अनुमान गरेको छ । कुल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार र प्रदेश सरकारहरूबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने छ ।

यस्तै होटल व्यवसायीसँगको सहकार्यमा होटल परिसरमा सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक पहल गर्ने, वर्षातको समयमा हुने डुबान कम गर्नको लागि नालीहरूको प्रभावकारीरुपमा सरसफाई तथा व्यवस्थापन गर्ने, नेपालगञ्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी वडा नम्बर २० स्थित सुर्खेत रोडमा प्रवेशद्वार स्थापना गर्ने, आफ्नै भवन नभएका वडा कार्यालयहरूको भवन निर्माण कार्यलाई प्राथमिकता दिने, बागेश्वरी मन्दिरलाई थप व्यवस्थित र सौन्दर्यीकरण गर्न पूर्वतर्फ बागेश्वरी चिल्ड्रेन पार्क निर्माण गर्ने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै वरपरका जग्गाको ल्याण्ड पुलिङ मार्फत जग्गा विकास गरी सामूहिक बस्ती विकास गर्ने कार्यका लागि आवश्यक पहल गर्ने, आधुनिक प्रविधिको प्रयोग गरी कागजको प्रयोग घटाउँदै लगिने, नागरिकका लागि सहज अनलाइन सेवाको विकास गर्ने, डिजिटलाइज्ड सेवा प्रदान गर्ने विषयहरू नीति तथा कार्यक्रममा समेटिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ