कोहलपुरमा नयाँ बसपार्क उद्घाटन

समाचार

नेपालगन्ज, २४ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कोहलपुरमा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्कको उद्घाटन गरेका छन् ।

३० करोड ६२ लाख ७ हजार ७०१ कुल लागतमा निर्माण गरिएको उक्त बसपार्क उद्घाटन भएसँगै साउनदेखि सञ्चालनमा आउने कोहलपुर नगरपालिकाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री चौधरीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मुख्य द्वारमा रहेको सो बस पार्क लुम्बिनी प्रदेशको गहनाको रुपमा रहेको बताएका हुन् ।

उनले समग्र कोहलपुर विकासको लागि मुख्यमन्त्रीको नाताले कोहलपुरलाई विकसित सहरको रुपमा स्थापित गराउन आफू कहीँ कतै नचुक्ने बताए ।

बसपार्क निर्माणका लागि नगर विकास कोषले ६० प्रतिशत ऋण लगानी गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको छ ।

२० वटा लामो दुरीका बस, २२ वटा मध्यम दुरीका सवारी साधन तथा गाडी र अटोसहित ७९ वटा छोटो दुरीका सवारी साधन अट्ने क्षमता रहेको बसपार्कमा ५९ वटा व्यवसायीक सटर, तीन वटा ब्लकमा २७ वटा शौचालय (३ वटा अपाङ्गमैत्री), २४ वटा टिकट काउण्टर, ग्यारेज सहित २ वटा विद्युतीय चार्जिङ सेन्टर, प्रहरी सुरक्षा कक्ष, स्तनपान कक्ष र धूम्रपान कक्ष निर्माण गरिएको छ ।

पश्चिम नेपालकै सुविधा सम्पन्न भनिएको लामो दूरीको बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुरले लिएको छ ।

बसपार्कमा बस पार्किङ, टिकट काउन्टर सपिङ कम्प्लेक्स लगायतका संरचना छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ