कमल राज पौडेल देव कमल, बर्दिया, २९ असार । बर्दिया जिल्लामा ६२ हजार ७ सय पशुलाई खोरेत रोग विरुद्धको खोप लगाइएको छ ।
एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय गुलरिया बर्दियाको आयोजनामा खोरेत रोग उन्मुलन अभियान प्रारम्भ कार्यक्रम गोष्ठीलाई सम्बोधन गर्दै उक्त कुराको जानकारी एकीकृत कृषि तथा पशुपन्छी विकाश कार्यालय गुलरिया बर्दियाका नि. प्रमुख अनिल शर्माले दिए ।
नि. प्रमुख शर्मा भन्छन्, ‘दिनहुँ कृषकहरुको गोठमा पशु संख्याको वृद्धि भइरहेको छ । तर राज्यले दिने खोरेत रोग विरुद्धको खोपको संख्या वृद्धि हुन सकेको छैन । त्यसैले हामीले जिल्ला भित्र ४० प्रतिशत मात्र पशु चौपायालाई खोरेत रोग विरुद्धको खोप लगाउन सकेका छौ ।’

बर्दिया जिल्लामा पशु चौपायाको संख्या गाई १ लाख २५ हजार, भैंसी १ लाख २४ हजार, बाख्रा २ लाख र बंगुर ४२ हजार रहेको एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय गुलरिया बर्दियाले जनाएको छ ।
उक्त समन्वय गोष्ठीमा पशु क्वारेन्टाइन नेपालगन्जका वरिष्ठ डा. बिनय कुमार कर्ण, जिल्ला भित्रका ८ वटै पालिकाका पशु सेवा शाखाका शाखा प्रमुखहरु, जिल्ला भित्रका पशु खोपकर्ताहरु, जिल्ला दुध उत्पादन सहकारी संस्थाका प्रतिनिधिका साथै स्थानीय कृषक र आम संचारकर्मीको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया