बर्दियामा जुनेलो खेती लोप हुँदै

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, १८ साउन । बर्दिया जिल्लाको ८ वटै पालिकाभित्र केही समय पहिलासम्म हुँदै आएको पारम्परिक जुनेलो खेती अहिले लोप हुने स्थितिमा छ ।

विगतमा जिल्लाको बढैताल गाउँपालिका, बाँसगढी, गुलरिया र मधुवन नगरपालिकामा व्यावसायिक रूपमा र अन्य पालिकामा घरायसी प्रयोगका लागि जुनेलो खेती हुँदै आएको थियो । अहिले यो खेती हुन छाडेको कृषकहरु बताउँछन् ।

१० वर्ष अघिसम्म आफूले प्रत्येक वर्ष ७ देखि १० क्विन्टलसम्म जुनेलो उत्पादन गर्ने गरेको गुलरिया नपा–२ जैनपुरका कृषक जितेन्द्र कुमार यादव भन्छन्, “केही वर्षसम्म आफूले गर्दै आएको जुनेलो खेती अहिले पूर्ण रूपमा छाडिदिएको र अन्य कृषक दाजुभाइहरुले पनि छाडिसकेका छन् ।”

परम्परागत खेती छाड्दै गरेको कारण अहिले जुनेलो खेती हुन छाडेको उनी बताउँछन् ।

मधुवन नगरपालिकाभित्र विगतमा धेरै जसो जमिनमा चना, अरहर, मकै र जुनेलो खेती हुने गथ्र्यो र उत्पादन पनि धेरै हुँदा यहाँका किसानले त्यसलाई बिक्री गरेर मनग्ये आम्दानी गर्ने गर्थे तर अहिले चना, अरहर र मकै हाईब्रिड हुन थाले । त्यसैले जुनेलो खेती कृषकहरुले गर्न छाडेको मधुवन नपा–९ नौ न. गाउँका ६७ वर्षीय गोपाल गुरुङ बताउँछन् ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका कार्यालय प्रमुख सागर ढकालका अनुसार बर्दिया जिल्लाभित्र विगतमा खाद्यान्न आपूर्तिका लागि जुनेलो खेती हुने गरेता पनि अहिले पशु आहारका लागि जुनेलो खेती हुने गरेको छ ।

पहिला धेरै क्षेत्रफल जमिनमा देखिने जुनेलो खेती अहिले फाटफुट देखिन्छ तर जुनेलो खेती बर्दियामा लोप भइसकेको चाहिँ छैन, उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ