अर्थमन्त्रीद्वारा सुख्खा बन्दरगाह निरीक्षण

समाचार

वीरगन्ज, १८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गरेका छन् ।

अर्थमन्त्री डा.महतले बिहीबार बन्दरगाह र भन्सार कार्यालय निरीक्षण भ्रमण गरेका हुन् । उनले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताएका थिए ।

झन्झटिलो प्रक्रियाले व्यवसायीले जोखिम मोलेर अर्को बाटो रोज्ने गरेको उनको भनाइ थियो । राजस्व सङ्कलनमा भन्सार र सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।

मन्त्री महतले कर्मचारीले फाइदा उठाउन भन्दा काम गर्न आएको भनेर मनन गरेमा राजस्वले लक्ष्य भेट्ने विश्वास व्यक्त गरेका थिए ।

उनले भन्सार योगदानको ४० प्रतिशत वीरगन्ज भन्सार कार्यालयबाट प्राप्त हुनेसमेत प्रष्ट पारे । ‘‘हाम्रो आय स्रोतको ८० प्रतिशतभन्दा बढी राजश्वबाट प्राप्त हुन्छ। यो ८० प्रतिशतभन्दा बढी राजश्व हामीले भन्सार आन्तरिक राजश्वबाट उठाउनुपर्छ। यो राजश्वबाट झन्डै आधा अर्थात् ४८ प्रतिशत भन्सारबाट उठाउनुपर्छ। भन्सार योगदानको ४० प्रतिशत सुख्खा बन्दरगाह भन्सार र वीरगन्ज भन्सार कार्यालयबाट प्राप्त हुन्छ। यस हिसाबले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने बुझ्नुपर्छ’’, मन्त्री महतले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ