मधेशमा डेंगु संक्रमण फैल्दै

समाचार

जनकपुरधाम, १८ साउन । अहिले देशभर नै डेंगु संक्रमण बढ्दै गएको छ । डेंगुको संक्रमणबाट अहिलेसम्म कैयौं नागरिकको ज्यानसमेत गइसकेको छ ।

यसैबीच, मधेश प्रदेशमा पनि डेंगु रोगका सङ्क्रमण फैलिन थालेको छ । प्रदेशको सबैजसो जिल्लामा डेंगु सङ्क्रमणका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जानकारी दिएको छ । बालबालिकादेखि वृद्धवृद्धामा यो रोग देखिएको बताइएको छ ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा. सञ्जिवकुमार झाले साउनको सुरुवातयता २२ जनामा डेंग सङ्क्रमण पोजेटिभ देखिएको बताएका छन् । उनले अहिलेसम्म स्थानीय तहबाट यतिजनाको मात्र तथ्याङ्क प्राप्त भएको जानकारी दिए ।

उनका अनुसार ‘स्थानीय तह तथा नीजि स्वास्थ्य उपचार केन्द्रमा उपचार गराएका एवम् उपचारमा रहेका बिरामीको तथ्याङ्क सङ्कलनका लागि कर्मचारी परिचालन गरिएको छ । साथै सङ्क्रमण बढ्न नदिन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामार्फत लामखुट्टेका लार्भा खोजी गरेर नष्ट गर्ने काम भइरहेको छ ।

भयावहको स्थिति नभएपनि विगत एक महिनादेखि दिन बिराएर दुई–तीन जनामा यो सङ्क्रमण देखिने गरेको बताइएको छ । भर्ना गरेर उपचार गर्नुपर्ने जस्ता जटिल बिरामी नदेखिए पनि यसले महामारीको रुप लिनसक्ने नागरिक अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

बिरामीको स्वास्थ्य उपचार र डेंगु सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको प्रयास भइरहेको सरोकारवाला पक्षले जनाएको छ । प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालयमा औषधि व्यवस्थापन गरिएको र लामखुट्टेका लार्भा नष्ट गर्न स्वास्थ्य क्षेत्रका कर्मचारी खटिएको जनाइएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण तथा रोकथामका प्रयासमा मधेश प्रदेशका स्थानीय तह गम्भीर नदेखिएको गुनासो स्थानीयले लगाएका छन् । वर्षा सकिएपछि मात्रै देखा पर्ने डेंगु अहिले नै देखिन थालेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ