वीरगन्ज, १९ साउन । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले एकजुट भएर काम गरे नेपाली कांग्रेसको अगाडि कुनै पार्टी टिक्न नसक्ने बताएका छन् ।
अर्थमन्त्री महतले देशभरका कांग्रेस नेता कार्यकर्ता एक आपसमा आरोप प्रत्यारोपमा नलागी एकजुट भएर पार्टीका लागि काम गरेको खण्डमा कांग्रेसका सामु कुनै पार्टी टिक्न नसक्ने दाबी गरेका हुन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ ख को प्रथम प्रदेश सभा क्षेत्रिय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री महतले काँग्रेसले जे बोल्छ, त्यो गर्छ र गर्न नसक्ने कुरा बोल्दैन भने ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ ख का सभापति अनिल सिंहको अध्यक्षतामा सम्पन्न भेलालाई कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, मधेश प्रदेशका पूर्व खानेपानी मन्त्री ओम प्रकाश शर्मा, नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, संविधानसभा सदस्य अनिल रुंगटा, कांग्रेस नेता राकेश सिंह, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतले सम्बोधन गरेका थिए ।
तपाईको प्रतिक्रिया