एकत्रित आन्दोलनको प्रण गरौं : वरिष्ठ नेता महतो

समाचार

काठमाडौं, २४ साउन । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा शुभकामना दिँदै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले एकत्रित आन्दोलनका लागि आह्वान गरेका छन् ।

२९औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा लोसपाका वरिष्ठ नेता महतोले बुधबार शुभकामना सन्देश सार्वजनिक गर्दै एकत्रित आन्दोलनको प्रण गरौं भन्दै आह्वान गरेका हुन् ।

“परिवर्तनको सम्वाहकको रुपमा आत्मनिर्णयको अधिकारको लागि आदिवासी युवाको भूमिका” भन्ने नारा सहित २९औंं विश्व आदिवासी दिवस मनाई रहेका तमाम आदिवासी राष्ट्रका जनताहरु प्रति उनले शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘स्वदेशी÷आदिवासी राष्ट्रहरु आधुनिक राज्यहरुमा पनि आफ्नो भूमी, भूक्षेत्र तथा श्रोतहरुमा स्वशासन र आत्मनिर्णयको अधिकारको लागि संघर्ष गरिरहेका छन । नेपालका स्वदेशी (आदिवासी, मधेशी, खस) राष्ट्रहरुले पनि विगत लामो समयदेखी आन्तरिक औपनिवेशिकताबाट मुक्त हुने तथा आफ्नो भूमिमा स्वशासन र आत्मनिर्णयको अधिकार उपयोग गर्न पाउनु पर्ने दावा सहित गरिरहेको संघर्षको जगमा नेपालमा लोकतन्त्र स्थापित भएको हो । स्वशासन, स्वायत्तता र आत्मनिर्णयको अधिकार, प्रथाजनित कानुन, भूमि–प्राकृतिक स्रोतको सामूहिक अधिकारमा सशक्त दाबी गर्ने तहसम्म यो आन्दोलन आइपुग्यो । तर नेपालमा सन् २०१५ को संविधान निर्माण हुँदा नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको International Labor Organization 169, United Nation Declaration on the Rights of Indigenous Peoples (UNDRIP) लगायत सन्धी, अभिसन्धीहरुले प्रत्याभुत गरेको अधिकारहरुलाई ईन्कार गरेको छ ।’

‘संविधान निर्माणकै समयमा भएको बिशाल मधेश आन्दोलन तुहाइयो, थरुहट आन्दोलनलाई दवाइयो, पाँच महिनादेखि अविराम चलिरहेको कोशी नाम खारेजी आन्दोलन टुङ्गोमा पुगेको छैन । जर्सिङपौवामा हाइटेन्सन लाइनले तामाङ समुदायलाई विस्थापित गरेविरुद्धको आन्दोलन होस् या आदिवासी समुदायको प्रथाजनित बिबाह सम्बन्धि अभ्यासको मनोमानी जेनेटिक अपराधी व्याख्याविरुद्धको संघर्षमा टेकु परिसरमा भएको दमनविरुद्धका आन्दोलनहरु छुट्टाछुट्टै भएर उपलब्धि हासिल गर्न सकिरहेको छैन ।’ शुभकामना सन्देशमा भनिएको छ ।

आन्दोलनकै बलबाट स्थापित भएको विश्व आदिवासी दिवस आदिवासीहरूमाथि भएका र हुने विभेद, हिंसा र शोषणहरूविरुद्ध प्रतिरोध र प्रतिकार गर्ने विशेष सन्दर्भ हो । उनले भनेका छन्, ‘यस सन्दर्भमा स्वदेशी/आदिवासी आन्दोलनको रोगको रुपमा रहेको दलीयकरण र एनजीओकरणबाट मुक्त भएर एकत्रित आन्दोलनको प्रण गरौं ।’

महतोले अधुरा रहेका क्रान्तिलाई पूरा गर्नको निम्ति नयाँ एकीकृत संघर्षको माग गर्दै आजको दिनले नेपालका स्वदेशी राष्ट्रहरुमाथि कायम रहेको औपनिवेशिकता अन्त्य गर्दै स्वाभिमान एव आत्मनिर्णयको अधिकार प्राप्तिको लडाईमा लाग्ने प्रेरणा स्वदेशी राष्ट्रहरुको युवामा जागोस भनि शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ