कमल राज पौडेल देवकमल, बर्दिया, २६ भाद्र । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालले जिल्लामा क्रियाशील कृषि सहकारी संस्थाहरुले कृषि एम्बुलेन्स खरिद गरि संचालन गर्न चाहेमा एकीकृत कृषि कार्यलयले अनुदान स्वरुप सहयोग दिने बताएका छन् ।
एकीकृत कृषि तथा पशुपन्छी कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त कुरा उनले बताएका हुन् ।
कार्यक्रमको अध्यक्षता समेत गरेका कृषि प्रमुख ढकालले जिल्लामा विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजलाई सुरक्षित तवरले बजार र उपभोक्तासम्म पुर्याउन कृषि एम्बुलेन्स संचालन गर्न सकेमा कृषि उत्पादनले समयमै बजार पाउने र उपभोक्ता र कृषक दुबैले लाभ लिन सक्ने उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला समन्वय प्रमुख सुर्य बहादुर बिष्टले राष्ट्रिय निकुञ्ज र अन्य वन क्षेत्रसंग जोडिएका किसानहरुले जंगली जनावरका कारण धेरै क्षति व्यहोरिरहेका छन् ।
त्यस्ता पीडित कृषकहरुलाई सजिलो तरिकाले क्षतिपूर्ति दिनु पर्छ, साथै जिल्लाका सबै कृषकले कृषि कार्यलय बाट पाउने सुबिधा भेदभावपूर्ण तरिकाले सबैले पाउन सकून् भन्दै एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयद्रारा प्रस्तुत वार्षिक कार्यक्रमको उनले प्रशंसा गरे ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले आर्थिक बर्ष २०८०/०८१ को वार्षिक १० करोड ७५ लाख ४६ हजारको स्वीकृत बजेट सार्वजनिक गरेको छ ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाकाले यस वर्ष पुरानो कार्यक्रमलाई निरन्तरता दिँदै कृषि एम्बुलेन्सका साथै गुलरियामा बेसार प्रशोधन केन्द्र स्थापना गर्ने नयाँ कार्यक्रम रहेको बताएको छ ।
बेसार प्रशोधन केन्द्र स्थापना भएपछि वन्यजन्तुबाट क्षति व्यहोर्ने कृषकलाई ठूलो राहत मिल्ने कार्यालयको ठहर छ ।
तपाईको प्रतिक्रिया