

कमल राज पौडेल देवकमल, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा न. ४ अन्तर्गत रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले केरा पकाउने च्याम्बर उद्घाटन गरेको छ ।
गुलरिया नगरपालिका वडा न. ५ सिचाइ कार्यालयको छेउमा च्याम्बर निर्माण बिहीबार उदघाटन गरेको हो ।
उक्त च्याम्बर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाइ कार्यालय बर्दियाको रु १० लाख सहयोग, हेपर ईन्टर नेशनलको १२ लाख सहयोग र दिगोपन सहकारीको ५ लाख गरि जम्मा २७ लाख रुपैयाँमा निर्माण गरिएको संस्थाको अध्यक्ष जित कुमारी योगीले बताए ।
अध्यक्ष योगीले भने, ७ सय क्यारेट क्षमताको च्याम्बर भएता पनि उदघाटनका क्रममा ३ सय ५० क्यारेट केरा पकाउन हालेका छौ । हालेको ७२ घन्टा पछि पाकेको केरा बिक्रीवितरण सुरु गरि गुलरियाबासीका साथै समग्र बर्दियाबासीलाई सस्तो मुल्यमा स्वस्थकर केरा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
जिल्ला भित्र ३ सय हेक्टर क्षेत्रफल जमिनमा केरा खेती हुने गर्छ । त्यसमा सबैभन्दा अधिक गुलरिया नगरपालिका भित्र २ सय ९० हेक्टर क्षेत्रफल जमिनमा केरा खेती हुने गर्छ भने जिल्लाको बाँसगढी नगरपालिका मधुबन नगरपालिका र राजापुर नगरपालिकामा १४ हेक्टर जमिनमा केरा खेती हुने गरेको छ ।
समग्र बर्दिया जिल्लामा केरा खेतीको उत्पादन वार्षिक १० हजार ९ सय मे. टन रहेको छ । त्यसमा १० हजार ४ सय ४० मे. टन गुलरिया नगरपालिका भित्र उत्पादन हुने गरेको छ । यसरी उत्पादन हुने केराको वार्षिक कारोबार १६ करोड रहेको छ ।
जिल्ला भित्र दैनिक ३०.४० मे.टन केरा खपत हुने गर्छ । उत्पादनका हिसाबले बर्दिया जिल्ला केरामा आत्मनिर्भर जिल्ला रहेको उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय बर्दियाका कार्यलय प्रमुख कृष्ण धितालले बताए ।
जिल्लाभित्र प्राप्त मात्रा केरा उत्पादन भएता पनि केरा पकाउने च्याम्बरको अभावले गर्दा केरा खेती गर्ने कृषकले लगानी अनुसारको मुल्य नपाएको र बर्दिया बासीले उपभोक्तले अधिक मुल्यमा केरा खरिद गर्नु परेको समस्यालाई सम्बोधन होस भनेर च्याम्बर निर्माणमा सहयोग गरेको हेपर ईन्टरनेशनलका क्षेत्रीय अधिकृत प्रदीप शर्माले बताए ।
यो चेम्बर संचालनमा आएपछि पहिला जस्तो यहाँ उत्पादन भएका केरा पकाउनका लागि बाँकेको नेपालगन्ज जाने बाध्यता सदाका लागि अन्त्य हुने र किसानले उचित मुल्य पाउनुका साथै उपभोक्तले सस्तोमा केरा खान पाउने छन् भन्ने कुरामा आफू बिस्वस्त रहेको कार्यक्रमका प्रमुख अतिथि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालले बताए ।
उक्त उद्घाटन कार्याक्रमका अन्य अतिथिहरु गुलरिया नपा वडा न. ४ र ५ का वडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेका थिए ।


तपाईको प्रतिक्रिया