के एक दिन मात्र दीप जलाउनका लागि संविधान बनेको हो ?

समाचार

कौशल गोपालवंशी

आज असोज ३ गते अर्थात् संविधान दिवस । लामो संघर्ष र ठूलो त्याग बलिदानपछि मुलुकले संघीय गणतान्त्रिक लोकतान्त्रिक संविधान २०७२ असोज ३ गते पायो । शताब्दीदेखिको ठूलो संघर्षपछि नेपालको सार्वभौमसत्ता नेपाली जनताको हातमा आयो । नेपालमा पहिलोपल्ट जनताले आफ्नो लागि आफैले संविधान बनाउने अवसर पायो ।

यो लोकतन्त्रको ठूलो विजय हो । योभन्दा ठूलो विजय लोकतान्त्रिक शासन प्रणालीमा हुनै सक्दैन । यति ठूलो सफलताले पक्कै पनि नागरिकलाई ठूलो लाभ हुनुपर्ने हो । किन योभन्दा ठूलो सफलता लोकतान्त्रिक शासन प्रणालीमा अहिलेसम्म भएको छैन । त्यसैले यो सफलताबाट अहिलेसम्मकै सबैभन्दा बढी लाभ जनतालाई हुनुपर्ने हो । यस्तो लाभ कि त्योभन्दा बढी लाभ जनताले लोकतान्त्रिक प्रणालीमा जनताले लिनै नसक्ने हुनुपर्छ । त्यसैले सार्वभौमसत्ता सम्पन्न जनता इतिहासकै सुखी जनता हुनुपर्छ ।

त्यसैले प्रत्येक जनताले असोज ३ गते संविधान दिवसको दिन मात्र होइन कि यो संविधान रहुन्जेलसम्म घरमा सधैं दिपावली मनाउनु पर्छ । तर जनताले आफै बनाएको संविधानको ८ वर्ष भइसक्यो तर जनताको घरमा समय बित्दै जाँदा बति निभ्दै गएको देखिन्छ । १० वर्षअघि जनताको आय वृद्धिदर अहिलेको तुलनामा बढी थियो ।

समय बित्दै जाँदा जनता झन् गरिबीको चपेटामा पर्दै गएको देखिन्छ । पहिलाभन्दा अहिले महँगी बढेको छ । जनता महँगीको चपेटामा परेर दिनप्रति दिन प्रत्येक व्यक्तिलाई बैंक तथा सहकारी संस्थाको ऋण बढ्दै गएको देखिन्छ । दिनप्रति दिन युवाहरु विदेशिँदै छन्, तर पनि हामी खराबी कहाँ छ भन्ने पत्ता लगाउन सकेका छैनौं ।

देशमा नयाँ संविधान लागू भएदेखि झन् भ्रष्टाचार बढेको छ । घर–घरमा सिंहदरबार पठाउने भनेको त घर–घरमा नीति निर्णयको ढाल लगाएर लुट्न पो पठाएको जस्तो छ । कुनै पनि कार्यालयमा जाँदा पहिला कोही चिनजानको छ कि नई भन्ने पत्ता लगाउँछन् यदि छैन भने कार्यालयमा जाने आँट पनि गर्दैन सर्वसाधारण जनताले ।

गाउँको वडा कार्यालयमा पनि काम गराउँदा समान विचारधारा भएको पार्टीको कार्यकर्तालाई लिएर गईएन भने, सेवाग्राहीलाई अर्को ग्रहबाट आएको जस्तो व्यवहार गरेको देखिन्छ । त्यसैगरी संघ, प्रदेश र स्थानीयमा काम गर्ने कर्मचारीहरुका लागि अहिलेसम्म सरकारले संघीय निजामती ऐन पनि ल्याउन सकेका छैन । त्यसैगरी, धेरै कामहरू छन् जो संविधान लागू गर्नु पूर्व लागू हुनुपर्थ्यो तर भएन । जसको कारणले कर्मचारी, जनता र राजनेता सबै दल–दलमा फँसेको देखिन्छ ।

त्यसैगरी, संविधानमा भएका विभिन्न त्रुटिहरुलाई अवमूल्यन गरी देश र जनतालाई झन् घाटा हुने देखिन्छ । सुरुको वर्षमा पहाडमा दिपावली अनि तराईमा कालो दिनको रुपमा मनाइयो तर समय बित्दै जाँदा तराई, पहाड, हिमाल सबै ठाउँको जनताले संविधान दिवस दिन मात्र दिपावली मनाउँछन् भने बाँकीका दिन प्रायः जनताको घरमा अस्वास्थ्य, अशिक्षा, बेरोजगारी, भोकमरीको बादलले अँध्यारो छरेको देखिन्छ ।

त्यसैले, संविधानलाई संशोधित गरी सबैलाई सधैंका लागि उज्यालो छरियोस् । सबैलाई अपनत्ब महसुस हुने गरि एक दिन मात्र होइन सधैंका लागि सबैको घरमा उज्यालो छरियोस् । सबैले एक दिन मात्र होइन संविधान सम्झिने बितिकै दिपावली मनाउने उमंग पैदा हुनेगरी यो संविधानको संशोधित तथा लागू गरियोस् भन्ने अभिव्यक्तिको साथ संविधान दिवसको हार्दिक शुभकामना सम्पूर्ण नेपाली जनतालाई ।

(म एक अथार्तवादी लेखक हु । मैले खासगरी मधेस र पिडित पक्षको लागि आफ्ना कलम चलाउछु ।)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ