आर्मीलाई हराउँदै मधेशले जित्यो केपी ओली कप

समाचार

पोखरा । मधेश प्रदेशले केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रवार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेशले केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

मधेशले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ मात्र बनाउन सक्यो ।

सोमपाल कामी १६ र विवेक यादव अविजित २५ रन बनाए पनि आर्मीलाई जित दिलाउन सकेनन् ।

आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए ।

बलिङतर्फ मधेशका कप्तान हरिशंकर साहले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका शाहले १९ रन खर्चेर ४ विकेट लिएका हुन् । प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए ।

यसअघि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो ।

मधेशका विशाल पटेलले ४९, कप्तान हरिशंकर साहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए ।

 उपाधि जितेको मधेशले नगद ५ लाख हात पारेको छ भने पराजित भएको आर्मीले २ लाख ५० हजार पाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ