मधेश प्रदेशको आठै जिल्ला सदरमुकाममा सीसीटीभी क्यामरा जडान हुन्छ : मुख्यमन्त्री यादव

समाचार

जनकपुरधाम। मुख्यमन्त्री सरोजकुमार यादवले शान्तिसुरक्षाको मध्यनजर गर्दै प्रदेशको आठ वटै जिल्ला सदरमुकाममा सीसीटीभी क्यामरा जडान गर्ने बताउनुभएको छ ।

राजधानी जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयको शुक्रबार शिलान्यास गर्नुहुँदै प्रदेश सरकारले सुरक्षाव्यवस्थालाई थप सुदृढ बनाउन आठ वटै जिल्लाको सदरमुकाममा यसै वर्ष सीसीटीभी क्यामरा जडान गर्न लागेको जानकारी दिनुभयो ।

बारामा दिनदहाडै एक नीजि विद्यालयका प्रिन्सिपलको हत्या भएको स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो– पुरानो सीसीटीभी क्यामराको फुटेजको आधारमा अपराधि पक्राउ परेको थियो । प्रदेशमा रहेको सुरक्षा चुनौतीको मध्यनजर गरेर सरकारले कुनै प्रकारको ढिलासुस्ती नगरी सुरक्षाव्यवस्था चुस्तदुरुस्त राख्न सुरक्षानिकायलाई हरसम्भव सहयोग गर्न तयार रहेको उहाँले थप्नुभयो ।

मधेश प्रदेशमा कार्यरत्त प्रहरीका लागि प्रदेश सरकारले यसै वर्ष आवश्यक मेट्रेस(ओछ्याउने सामग्री) को व्यवस्था मिलाउँछ, मुख्यमन्त्री यादवले भन्नुभयो–प्रहरी चौकीहरुमा सवारीसाधनको लागि १५ करोड रुपैयाँ उपलब्ध गराउन लागेको छु । यसले प्रदेशको सुरक्षाव्यवस्था सुदृढ पार्न सहयोग पुग्नुका साथै सुरक्षा निकाय उच्च मनोवलका साथ अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।

प्रहरी समायोजन नहुँदा समस्या भएको जिकिर गर्नुहुँदै मुख्यमन्त्री यादवले प्रदेश मातहत प्रहरी आएपछि सबै सुविधा उपलब्ध गराउने बताउनुभयो ।

प्रहरी प्रदेश सरकार मातहत आएमा राजश्व घट्ने होइन्, डेढ गुणाले बढ्ने दावी उहाँले गर्नुभयो ।
प्रहरी प्रदेश मातहतमा जाँदा राजश्व घट्ने संघीय सरकारको शंका छ ।

सो अवसरमा गृह, संचार तथा कानून मन्त्री मोहम्मद समीमले मधेशमा प्रहरीको बिस्तारा(ओछ्यान) लिएर हिड्ने प्रचलनको अन्त्य गर्ने बताउनुभयो ।

प्रहरीको सरुवा हुँदा आप्mनो विस्तारा लिएर जानुपर्ने बाध्यात्मक अवस्था रहेको छ, उहाँले भन्नुभयो–यो बाध्यतालाई छिट्टै अन्त्य गरिन्छ । प्रदेशका चौकी र थाना निर्माण, पुर्ननिर्माण, मर्मत सम्भार लगायतको कार्य गर्न १८ करोड रुपैयाँ छुटट्याइएको उहाँले जानकारी दिनुभयो ।

नेकपा एमाले मधेश प्रदेश संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले प्रहरीको लागि चौकी, थाना निर्माणका साथै सवारीसाधनको समेत व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

२३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा मधेश प्रदेश प्रहरी कार्यालय हालको संघीय प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागेको हो ।

१८ महिनामा निर्माण हुने सम्झौता गरिएको उक्त भवन अतिआधुनिक रहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले निकासा गरेको बजेटबाट लिप्mटसहितको चारतल्ले मधेश प्रदेश प्रहरी कार्यालय निर्माण हुन लागेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ