काठमाडौं । अमेरिकामा मधेश र मधेशीको मानव अधिकारको संरक्षणको लागि संलाचित संस्था मधेश ह्युमन राइट्स (मधुर) ले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मधेश छात्रवृति घोषणा गरेको छ ।
मधुरले पहिलो छात्रवृति पीएचडी अध्ययनरत एवं शोधार्थी दिपक कुमार गुप्तालाई प्रदान गरेको हो ।
रू. ५१ हजार राशीको छात्रवृति हरेक वर्ष मधेशको क्षेत्रमा शोध–अनुसंधान एवं काम गर्नेलाई प्रदान गर्ने मधुरका अध्यक्ष डा.चन्दन सिंहले बताएका छन् ।
दिपक कुमार गुप्ता विगत ३० वर्ष देखि मधेशको राजनीतिक, सामाजिक, भाषिक–सांस्कृतिक एवं शोध अनुसंधानको क्षेत्रमा कार्यरत छन् भने अहिले त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्र विभागमा संघीयता र मधेश विषयमा विद्यावारिधि गर्दै छन् ।
जस्टिस फर अल नेपाल – जेफानको आयोजनामा र मधुरको सहकार्यमा राजधानी स्थित सिलौटा कटेजमा वुमन लिडरसिप इन पपुलिष्ट पोलिटिक्स विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य विद्या सिन्हा, नेपाल ल कलेज कि उपप्रध्यापक अधिवक्ता रोशनी पौड्याल, मधुरका अध्यक्ष डा. चन्दन सिंह, महिला अभियन्ता भावना झा वक्ता रहेको कार्यक्रमका बीच उक्त छात्रवृति घोषणा गरिएको थियो ।
वक्ताहरू नेपालको राजनीतिमा महिला नेतृत्व, सहभागिता तथा महिलाका विविध पक्षको बारेमा आ–आफ्नो विचार राखेका थिए ।
वक्ताहरू विभिन्न सहभागीहरूको जिज्ञासाको जवाफ पनि दिएका थिए । कार्यक्रम अधिवक्ता विकास विकल्पको अध्यक्षतामा भएको थियो ।
तपाईको प्रतिक्रिया