राष्ट्रिय मुक्ति क्रान्तिको सफलता : बागमतीका सरकारी कार्यालयहरुमा तीन भाषामा साइनबोर्ड राखिने

समाचार

काठमाडौं । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राजेन्द्र महतोले सुरु गरेको राष्ट्रिय मुक्ति क्रान्ति सफलतातर्फ अगाडि बढिरहेको छ । नेपालमा बसोबास गर्ने सबै भाषाभाषी, भेषभूषा, कलासंस्कृतिको जगेर्ना र संरक्षण राष्ट्रिय मुक्ति क्रान्तिको मूल उद्देश्य हो ।

सोहीअन्तर्गत बागमती प्रदेशका सरकारी कार्यालयहरूले तीनवटा भाषामा साइनबोर्ड राख्नुपर्ने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेकोलाई राष्ट्रिय मुक्ति क्रान्तिले स्वागत गरेको छ ।

बागमती प्रदेशको नामाकरणप्रति समेत राष्ट्रिय मुक्ति क्रान्तिले आपत्ति जनाउँदै आएको छ । राष्ट्रिय मुक्ति क्रान्तिका एक नेताले भने, ‘कमसेकम यस प्रदेशका बहुसंख्यक नागरिकको अपनत्व झल्किने भाषामा सरकारी कार्यालयहरुको साइनबोर्ड राख्ने निर्णय स्वागत योग्य हो । यद्यपि हाम्रो मागहरु अझ पूरा भएको छैन । यो आंशिक सफलता मात्र हो ।’

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा बसेको मन्त्रिपरिषद्को बैठकले भाषा ऐन आगामी २४ गतेबाट कार्यान्वयनमा आउने भएकोले सबै कार्यालयमा नेपाली, तामाङ र नेवारी भाषामा साइनबोर्ड राख्नुपर्ने निर्णय गरेको थियो ।

भाषा विधेयक कार्यान्वयनमा आउने दिन अर्थात आउँदो २४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिइने निर्णय समेत गरेको छ ।

उक्त दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा सुभारम्भ गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ