जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका सहित मधेश प्रदेशको १२ वटा पालिकामा महिलाहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्नका लागि “सशक्त महिला समृद्ध नेपाल” अभियान सञ्चालनमा आएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसङ्घीय चार निकायको समन्वयमा अभियान सञ्चालनमा आएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका मधेश प्रदेशका प्रमुख डा. नरेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । अभियान चार वर्षसम्म सञ्चालन हुने छ ।
यस कार्यक्रम अन्तर्गत मधेश प्रदेशका जिल्लाहरूमा महिला तथा बालबालिकाका मुद्दाहरूको सम्बोधनका साथै आर्थिक सशक्तीकरणका लागि राष्ट्र संघका युनिसेफ, युएनडिपी, आइएलओ तथा यूएनएफपिएले सहजिकरण गर्ने भएको छ ।
लाइफ नेपालसँगको सहकार्यमा जनकपुरधाम उपमहानगरपालिकाका सबै वडामा कार्यक्रम सञ्चालनमा आएको छ । कार्यक्रमलाई प्रभावकारी किसिमले सञ्चालन गर्नेबारे उपमहानगरपालिकाका पदाधिकारीसहित उच्च पदस्थ अधिकारीहरुसंग अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका महिला तथा बालबालिकाहरूको आर्थिक तथा सामाजिक विकास मार्फत नेतृत्व क्षमताको विकासका लागि सबै वडामा सञ्चालन गरेकाले सफल बनाउन आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया