मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच दुई दिवसीय कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी,२०८१ मोरङको विराटनगरमा सम्पन्न भएको छ ।
नेपाल सरकार गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा उक्त गोष्ठी आइतबारबाट शुरू भएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम गर्नको लागि गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन् ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छलि, राजस्व चुहावट जस्ता गतिविधि नियन्त्रण गर्न सबै जिम्मवार निकायहरूले आ–आफ्नो स्थानबाट सक्रिय रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । वर्दी लगाएको प्रहरी जहाँ उभिन्छ त्यहाँ सरकारको प्रतिनिधित्व भइरहेको हुने चर्चा गर्दै उनले नागरिकलाई समस्या परेको बेला सबै भन्दा पहिला प्रहरी समक्ष पुग्ने र उनीहरूको गुनासो सुनुवाई प्रहरीले गर्नुपर्ने बताए । लागू पदार्थ दुर्व्यसन तथा कारोबार नियन्त्रणमा विशेष अभियान, सचेतानमूलक कार्यक्रम संचालन गर्नुपर्ने बताए ।
सो अवसरमा गृह सचिव एकनारायण अर्यालले गोष्ठीमा भएको प्रस्तुतीकरण एवम् छलफलले एक आपसमा भएका असल अभ्यासको आदान प्रदानमा महत्वपूर्ण भूमिका निर्वाह भएको उल्लेख गरे । प्रदेशमा देखिएका सुरक्षा चुनौतिको निराकरण र समाधान गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले आफ्नो अधिकारको प्रयोग गर्न कुनै बाधा व्यावधान नपर्ने उनले बताए ।
मानब बेचबिखन, लागूऔषध ओसारपसार जस्ता गतिविधि नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले मन, वचन र कर्मले काम गर्नुपर्नेमा उनले जोड दिए । राष्ट्र सेवक कर्मचारीले सेवाग्राहीको समस्या, गुनासोलाई सुनुवाई गरी समयमै सामाधान गर्न समेत उनले निर्देशन दिए ।
उक्त अवसरमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारी र कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आ–आफ्नो विचार व्यक्त गरे ।
गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्षम, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताए ।
केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुत बनाई व्यावसायिक तथा सक्षम प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
प्रहरी महानिरीक्षक कुँवरले कानूनी राज्यको सुनिश्चि तता गर्न प्रहरी सेवा अपरिहार्य रहेको चर्चा गर्दै विद्यमान कानूनी क्षेत्रहरूमा समयानुकूल परिमार्जन गर्दै लैजान र प्रहरीलाई कानूनी अधिकारहरूले सुसज्जित गर्न समय सान्दर्भिक रहने बताए ।
विधिको शासनलाई अझ सशक्त बनाउने, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउने, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्चि त गर्ने एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उनले उल्लेख गरे । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गर्दै समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ–आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उनले निर्देशन समेत दिए ।
सो अवसरमा नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल क्षेत्री, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सह–सचिवहरू नारायण प्रसाद भट्टराई, डा. भीष्म कुमार भूसाल र थानेश्वीर गौतम तथा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले आ–आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतिकरण गरेका थिए ।
साथै कोशी प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । गोष्ठीमा कोशी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।
गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया