काठमाडौं । काठमाडौँस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै पहिलो भारत नेपाल पर्यटन सम्मेलनको आयोजना गरेको छ ।
भारत र नेपालबीच सर्किट टुरिजमको कार्यान्वयनलाई प्रोत्साहन गर्न बीटुबी कनेक्सन निर्माण गर्ने र उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ २०२५ को प्रवर्द्धन गर्ने बारे कार्यक्रम केन्द्रित थियो ।
सम्मेलनको पूर्ण सत्र (प्लेनरी सेसन) मा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।
राज्यमन्त्रीसँगै भारतीय राजदूतावासका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तव र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उक्त सत्रको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत भारत रहेको भन्दै प्रशंसा गरे र नेपाल पर्यटन बोर्डले भारत–नेपाल पर्यटन प्रवर्द्धनका लागि गरेका विभिन्न पहलहरूबारे प्रकाश पारेका थिए ।
प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले आफ्नो मन्तव्यमा औपचारिक तथ्याङ्कमा उल्लेख नभए पनि नेपालको पर्यटनमा विशेषगरी स्थलमार्गबाट हुने अन्तरदेशीय पर्यटनको ठूलो योगदान रहेको बताए । उनले दुवै पक्षले विशेष गरी दुर्गम क्षेत्र जस्तैं सुदूरपश्चिम प्रदेशमा अन्तरदेशीय कनेक्टिभिटिमा ध्यान दिनुपर्ने सुझाव दिए ।
आफ्नो मन्तव्यमा भारतीय राजदूतावासका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवले भारत र नेपालबीच उच्च पर्यटन प्रवाहलाई बढावा दिइरहेको भौतिक र डिजिटल कनेक्टिभिटीमा भएको विकासबारे जानकारी गराए ।
उनले नेपालका ठाउँहरु र भारतका छिमेकी राज्यहरूमा रहेका धार्मिक तथा सांस्कृतिक सर्किटहरुको प्रवर्द्धनमार्फत भारत–नेपाल पर्यटन क्षमताको पूर्ण सदुपयोग गर्न दुवै पक्षको निरन्तर संयुक्त प्रयासमाथि जोड दिए ।
उत्तर प्रदेशकी पर्यटन अधिकृत कीर्तिले विशेष गरी नेपाली भक्तहरुका लागि कार्यक्रमको महत्वबारे जानकारी दिने महाकुम्भ २०२५ विषयमा प्रस्तुति दिए ।
भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) द्वारा समर्थित भारतबाट आएको आठ सदस्यीय समूहले प्रस्तुत गरेको मनमोहक कथक नृत्यसँगै कार्यक्रम सम्पन्न भएको हो ।
सम्मेलनमा भएको बीटुबी कार्यक्रममा भारतका १३ प्रतिनिधि र नेपालका ६० जना टुर अपरेटरहरूको सहभागीता रहेको थियो । विशेषगरी स्थलमार्ग हुँदै अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।
रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवैतिरका टुर अपरेटरहरूले दुवै देशका पर्यटकहरुका लागि सम्भावित यात्रा योजनाहरूको बारेमा विचार विमर्श गरेका थिए ।
कार्यक्रमको एक हिस्साको रूपमा नेपाल पर्यटन बोर्डले आइतबार र सोमबार घुम्न आएका प्रतिनिधिहरू र टुर अपरेटरहरूका लागि उत्तर प्रदेश राज्यदेखि जनकपुर र काठमाडौँसम्म परिचयात्मक यात्राको आयोजना गरेको थियो । यस यात्राका केही झलकहरू https://bit.ly/4gtePG8 मा हेर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया