जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साहले कुनै प्रकारको लैङ्गिक हिंसा सभ्य समाजका लागि स्वीकार नहुने बताउँदै कुनै पनि हिंसा राज्यको लागि सह्य नहुने बताएका छन् ।
मन्त्री साहले संघीय मन्त्रालय तथा मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको संयुक्त आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको लैङ्गिक हिंसा निवारण सम्बन्धि कानूनी प्रावधान विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
उनले कानुनमा लैङ्गिक हिंसा दण्डनीय भएपनि अहिले पनि समाजमा हिंसा हुने गरेको बताउँदै हिंसामा परेकालाई राज्यले संरक्षण गर्नुका साथै हिंसा गर्ने माथि कानूनी कारबाही हुने भएकाले हरेका व्यक्ति सचेत रहन जरुरी रहेको बताए ।
मन्त्री साहले अशिक्षा, गरिबी तथा पुरातन शोचका कारणले समाजमा हिंसा हुने गरेको बताउँदै आफूले कहिल्यै हिंसा नगर्ने र हिंसा नसहने कुरामा हरेक व्यक्तिले प्रण गर्न आवश्यक भएको बताए ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले सामाजिक विकृति तथा अपराधको रुपमा रहेको लैङ्गिक हिंसा नियन्त्रणका लागि सबै निकायले मिलेर काम गर्नु पर्ने धारणा राखे ।
धनुषा तथा महोत्तरी जिल्लाका विभिन्न पालिकाहरूको उपप्रमुखहरूको सहभागिता रहेको सो कार्यक्रममा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश महेन्द्रनाथ उपाध्यायले लैङ्गिक हिंसाको नियन्त्रणका लागि भएको कानूनी प्रावधानका विषयमा जानकारी दिँदै हिंसा नियन्त्रणमा उपप्रमुखहरूको महत्वपूर्ण हुने बताए ।
तपाईको प्रतिक्रिया