संशोधनबाट बढी त्रसित हुनुको मतलब संविधान समाप्तिको यात्रातर्फ जानु हो : हृदयेश त्रिपाठी (अन्तर्वार्ता )

संयोजक, स्वतन्त्र राजनीतिक समूह

अन्तर्वार्ता

12/14/2018

० तपाइँहरूले भेलाको आह्वान गर्नुभएको छ, भेलाको उद्देश्य के हो ? 

— यही मंसिर २८ गते केही निश्चित साथीहरू, जो स्वतन्त्र राजनीतिक समूहका अगुवा नेताहरू हुनुहुन्छ, उहाँहरूसँग बैठक राखेका छौं । मूलतः अहिलेसम्मको हाम्रो यात्रा, भावी योजनाहरू, अब कसरी अगाडि बढ्ने लगायतका विषयमा केन्द्रित रहेर छलफल हुन्छ । 

० तपाइँहरू नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने कुरा थियो, त्यो कहाँ अड्कियो त ? 

— नेकपासँग हाम्रो पटक–पटक सम्वाद भएको हो र हुँदै पनि छ । त्यो विकल्प सम्पूर्ण रूपमा बन्द नै भइसकेको भनेर भन्न मिल्दैन । निर्वाचनपश्चात् देशमा परिवर्तित राजनीतिक सन्दर्भलाई विश्लेषण नगरी आगामी दिनका योजना र राजनीतिक कार्यक्रम बनाउन सकिँदैन । निर्वाचनको नतिजासँग एउटा भावना र मनोविज्ञान जोडिएको थियो । तर, अहिले आएर समग्र देशमै मनोविज्ञानमा परिवर्तन भएको छ । दुईटा कम्युनिष्ट पार्टीहरू एकीकृत भए, जसको संयोजनको काम अहिलेसम्म उहाँहरूले गर्दैछन् । त्यहाँ पनि विभिन्न प्रकारका सन्तुष्टि÷असन्तुष्टिका रेखाहरू कोरिएका छन् । नेपाली कांँग्रेस पनि महासमितिको तयारीमा छ । उ पनि निर्वाचनको नतिजाप्रति हतप्रद भएको छ । कांग्रेसमा वैचारिक समस्या देखिएको छ । गुटको समस्या सतहमा देखिएको छ । त्यस्तै, मधेशवादी दलहरू पनि हिजो निर्वाचनमा जस्ता थिए, आज रहेन । निर्वाचनको समयमा विशेषगरी एमालेको विरूद्धमा उभिएर राजनीतिक मत संकलन गरेका दलहरू त्यही पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेका छन्, कोही सहभागी पनि छन् । फोरम त सहभागी नै छ, राजपाले समर्थन गरेको छ । राप्रपा लगायतका पार्टीहरूले फेरि एकचोटि हिन्दू कार्ड प्रयोग गर्दै फेरि राजालाई फर्काउन सकिन्छ कि भन्ने ध्ययका साथ अगाडि बढिरहेको देखिन्छ । यी समग्र विषयको विश्लेषणहरू गर्न जरूरी छ । ठूलो विमतिका साथ यो संविधान जारी भएको हो र त्यो विमति कायमै छ । संविधान अनुकूलका विभिन्न कानूनहरू बन्ने प्रक्रिया केही अगाडि बढ्यो भने केही बाँकी नै छ । प्रदेशहरू अहिले असहाय अवस्थामा हिंडिरहेका छन्, स्थानीय तहमा बजेटहरू गएका छन्, विवेक र विचार गएको छैन । समग्र नेपालकै अर्थ प्रणालीको विषयमा भन्नुपर्दा ६ प्रतिशतभन्दा बढी विकास खर्च हुन सकेको छैन । यो समग्रतामा हामी विचार विमर्श गर्छौं । नेपाल–भारतका प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनको अवस्था के छ, त्यसमा उठाइएका विषयहरूले हामीलाई कसरी असर गर्छ, विशेषगरी सीमावर्ती क्षेत्रका जनतालाई (चाहे नेपालमा होस् वा भारतमा) ती सबै समग्र विषयमा हामी छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं ।

० नेकपामा प्रवेश गर्ने तपाइँहरूको शर्त के हो ? 

— हाम्रो कुनै पनि शर्त छैन । मधेशी र थारू जनतामा नेकपा लोकप्रिय हुन सकेन, यसको ऐतिहासिक कारणहरू छन् । वि.सं. २०१५ सालको निर्वाचनमा भन्ने हो भने २ वटा सिट पाटन र पाल्पाबाट र २ रौतहटबाट मात्रै कम्युनिष्ट पार्टीले जितेको थियो । पछि आएर के कारणले लोकप्रिय हुन सकेन, त्यसको विवेचना गर्न र मधेशलाई बुझ्न वि.सं. २०४९ सालमा स्व.मदन भण्डारीले एउटा कार्यदल बनाउनुभयो । उहाँले बुझ्नुभयो कि कम्युनिष्ट आन्दोलनलाई मधेशसँग जोड्न सकिएन । तत्कालीन नेकपा एमालेको महाधिवेशनले आफ्नो प्रतिवेदनमा मधेशका सवालहरू राखेको थियो । तर, उहाँको अवसानपछि त्यो विचारको पनि अवसान भयो र त्यो कार्यदलको पनि अवसान भएर गयो । माओवादीको जनयुद्ध उत्कर्षमा पुग्दा विस्तारका लागि विभिन्न जातीय मोर्चाहरू बनायो तर पछिल्लो चरणमा जब संविधान जारी गर्ने बेलामा ती पार्टीहरूले लिएका पूराना अडानमा पनि कायम रहन सकेनन् । भन्न खोजिएको के हो भने नेकपा पार्टी आफैमा मधेशी र थारू जनतामा लोकप्रिय किन हुन सकेन भन्ने सोच्नु उहाँहरूको जिम्मेवारी हो । उहाँहरूले जिम्मेवारी बहन गर्नुपर्छ । वि.सं. २०१७ सालपछि बढी प्रहारको निशाना कांँग्रेस भयो । काँग्रेसको कर्मभूमि नै मधेश रह्यो । त्यसैले काँग्रेस जोडिएको छ त्यहाँ । अझ पनि २८ देखि ३० प्रतिशत मत मधेशमा काँग्रेसको सुरक्षित छ । तर, ७० प्रतिशत मत काँग्रेसबाहिर छ । त्यसलाई आकर्षित गर्न सक्ने नीति, सिद्धान्त, कार्यक्रम र व्यवहार नेकपासँग छैन ।

० तपाइँहरू नेकपा नै किन रोज्नुभयो ? 

— हामी अहिलेसम्म चयन गरिसकेका छैनौं ।

० तर, नेकपा प्रवेशका लागि प्रयासरत् त हुनुहुन्छ नि ?

— नेकपा प्रवेशका लागि हामी आतुर छैनौं । न त उहाँहरूलाई नेता कार्यकर्ताको अकाल छ न त हामी बेरोजगार छौं । यो कुरा सबैलाई ढुक्क भएर बुझ्न मेरो आग्रह छ ।

० निर्वाचनका बेला तात्कालीन एमालकै चुनाव चिन्ह लिनुको कारण ?
— एउटा गठबन्धन तयार भयो । जस्तै, नेपाली काँग्रेसले राप्रपा र मधेशवादी दलसँग पनि गठबन्धन ग¥यो नि । त्यसैले, निर्वाचनका बेला चुनावी गठबन्धन भएको थियो । वाम मोर्चा प्रगतिशील छ, मधेश आन्दोलनको अनुभवको आधारमा म के भन्छु भने तीन दशक जति समय हामीले क्षेत्रीय हिसाबमा मधेशको समस्या समाधान गर्न सक्छौं भन्ने निष्कर्ष थियौं । यहाँका कथित राष्ट्रिय पार्टी भनाउँदा नेपाली काँग्रेस, एमाले, माओवादीहरूले मधेशको समस्या मधेशीहरूकै समस्या हो, हाम्रो होइन भनेर उनीहरू पनि क्षेत्रीय संकीर्णतामा फँसे । जसले गर्दा मधेश आन्दोलनले क्षति धेरै व्यहो¥यो र त्यसको तुलनामा उपलब्धि हासिल गर्न सकेन । यो यथार्थ हो । मधेश आन्दोलनहरूमा जति सहादत दिए, त्यस्तै सशस्त्र आन्दोलनमा पनि सात सयभन्दा बढी गैरन्यायिक हत्या भए त्यो सबै जोड्ने हो भने पञ्चायतकालमा पनि त्यति गैरन्यायिक हत्या भएको थिएन । तर, त्यसको उपलब्धिको रूपमा हेर्ने हो भने साह्रै न्यून छ । मधेशको समस्या जबसम्म देशको समस्याको रूपमा स्थापित हुँदैन, तबसम्म यसको सही ढंगले समाधान हुँदैन । मधेश आन्दोलन र मधेशी राजनीतिले यसलाई स्थापित र परिभाषित गर्न सफल भयो तर समाधान गर्न सकेन । यहाँका मै हुँ ठूला दल भन्नेहरू जो अहिले पनि जीवित छन्, क्रियाशील छन्, तिनले पनि गर्न सकेनन् । राजा महाराजा, राणाहरूले त गर्नै सकेनन् ती अतितका कुराहरू भए । त्यसकारणले मधेशको समस्या यो देशकै समस्या हो, मधेश गरिब रहेसम्म यो देश धनी हुन सक्दैन, मधेश अशान्त रहेसम्म नेपाल शान्त हुँदैन । त्यसैले, मधेशलाई सँगै लिएर नगइकन समग्रतामा नेपाल समृद्धिको यात्रा गर्न सक्दैन भन्ने निष्कर्षका साथ हामीले एउटा प्रयोग गरिरहेका छौं । यो प्रयोग सफल भयो भने देशका लागि नै ठिक होला, विफल भयो भने यसको परिणति सबैले भोग्नुपर्छ । हामी त भोगी नै रहन्छौं तर, जो भोग्न अहिले तयार छैनन् तिनले त अझ कस्सिएर भोग्नुपर्छ ।

० ६ वटा पार्टीलाई एकीकृत गरेर राजपा नेपाल बनाउन तपाइँको ठूलो योगदान रह्यो तर बीचमै छोडेर ँ बाहिरिनुको कारण के थियो त ?

— राजपा निर्माणमा मेरो योगदान रह्यो, त्यसमा दुईमत छैन । किनभने जो पार्टीहरू त्यहाँ थिए तमलोपाबाहेक ती पार्टीहरू कुनै न कुनै पार्टीबाट विभाजनै भएर आएका थिए । कोही ओरिजिनल पार्टी थिएन त्यहाँ र कुनै पनि विभाजन सिद्धान्तको आधारमा भएको थिएन । लोभलाभ र व्यक्तिगत स्वार्थको आधारमा विभाजन भएका थिए । सबै लोभीपापीहरूलाई एक ठाउँमा जम्मा गर्न पाए ठिक्कै हुन्छ भनेर सोच्यौं र त्यो कोशिस गरियो । मैले के अडान राखेको थिएँ कि ती सबै दलको शक्ति, संख्या र सामथ्र्यको आधारमा एकता गरौं । पछि उहाँहरू मान्नुभएन । व्यक्तिगत लाभका लागि पार्टी विभाजन गर्नेहरू किन मान्नुहुथ्यो र । त्यो बुझिसकेपछि महन्थ ठाकुरजीले स्वीकार गर्नुभयो, यद्यपि मेरो स्वीकारोक्ति थिएन । एकीकरण भइसकेपछि पार्टीलाई दर्ता गराउने कुरा आयो अनि उहाँहरू विधानमै लडेर दुई महिना बिताउनुभयो । त्यही बीचमा नेपालमा स्थानीय तहको निर्वाचन सुरू भइसकेको थियो । पहिलो चरणमा राजपाले भाग लिने ठाउँ थिएन, त्यसकारण त्यति साह्रो चिन्ता भएन । दोस्रो चरणको निर्वाचन हुने बेलाभन्दा अगाडि उहाँहरूले पार्टी दर्ता गराउनुभएन । अन्तिममा सरकारसँग उहाँहरूले के सहमति गर्नुभयो भने प्रदेश २ मा अन्तिम चरणमा निर्वाचन गर्ने, अरूमा दोस्रो चरणमा गर्ने । हाम्रो भूभाग प्रदेश १, ५ र ७ को स्थानीय निर्वाचनको बेलामा राजपा दर्ता नै भएको थिएन । यद्यपि निर्वाचन आयोगले २÷३ दिनको समय पनि दिएको थियो । तत्कालीन सरकारले पनि कोशिस गरेको थियो । तर, अध्यक्षमण्डलका ६ नेताहरूको आपसी विवाद र लडाईले गर्दा दर्ता गराउन सकिएन । बाध्य भएर बहिष्कारको नारा दिइयो र बहिष्कारको नारालाई हामीले सफलतापूर्वक अगाडि बढाउन कोशिस ग¥यौं । म दाबाका साथ भन्छु कि हाम्रै जिल्ला नवलपरासीमा कतिपय बुथमा जम्मा २ वटा भोट मात्रै प¥यो, कहीँ १३ प्रतिशत मतदान भएको छ, कहीँ १९ प्रतिशत मतदान भयो । त्यो सफल भयो । तर, अन्तिम चरणको निर्वाचनमा प्रदेश २ मा मात्र उहाँहरूले भाग लिनुभयो । केही परिवर्तन भएको थिएन र राजपाले निर्वाचनमा भाग लियो । हामीलाई धोका दिएको ठान्यौं, एउटै पार्टीले विभिन्न प्रदेशमा विभिन्न व्यवहार गर्दा यो पार्टी होइन रहेछ, यो रामलिला पार्टी हो भन्ने लाग्यो । त्यसकारणले यहाँ सकिन्न, उहाँहरूसँग काम गर्नसक्ने स्थिति रहेन । त्यसपछि हाम्रो दूरी बढ्दै गयो । विशेषगरी, तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजपाले देखाएको व्यवहार यसको मूल कारण हो ।

० अहिले राजपामा संयोजक परिवर्तन भएको छ, यसलाई कसरी लिनुभएको छ ? 

— मैले यसलाई प्राकृतिक रूपमा लिएको छु । यो कुनै अनौठो होइन । किनभने विशेषगरी तमलोपा जो सबभन्दा ठूलो र लोकप्रिय पार्टी थियो, त्यसलाई समाप्त गर्ने योजनाका साथ यो रणनीतिक एकीकरण भयो । त्यसैको अहिले निरन्तरता चलिरहेको छ । यो दिनप्रति दिन खराब हुँदै जान्छ । किनभने पहिले नै उहाँहरूले स्वीकार गर्नुभयो कि ६ जनाको अध्यक्षमण्डल रहने, दुई÷दुई महिनामा संयोजक परिवर्तन हुनेछ । महाधिवेशन नभएसम्म संयोजक परिवर्तन भइरहन्छ र महाधिवेशन हुन्छ कि हुन्न, यो पार्टी रहन्छ कि रहन्न त्यो कुरा त्यसका नेता कार्यकर्ताले भन्ने कुरो हो । मेरो त शुभकामना मात्रै के हो भने टिकिराख्नुस्, गरिराख्नुस्, अब जति खेतिपाति गर्नुभयो, धन्दा गर्नुभयो अब धन्दा छोड्नुस् । अहिले पनि उहाँहरूको प्रयास के देखिन्छ भने सत्तायात्रा नै हो । महन्थ ठाकुरलाई संयोजकबाट हटाउनुको मूल कारण सरकारमा जान केही साथीहरू आतुर हुनुहुन्छ । पटक–पटक उहाँहरूले सत्तापक्षसँग यो विषयमा वार्ता गरिक्नुभएको छ । महन्थ ठाकुर बाधक हुनुभयो सरकारमा जानका लागि । रेशम चौधरीको प्रकरण, आदि इत्यादि कुरा उठाएर ठाकुरले रोक्नुभयो भनेर सरकारमा जान पल्केकाहरू सरकारमा गइराख्नुपर्छ भन्ने प्रवृत्ति भएका व्यक्तिहरूको अध्यक्षमण्डलमा बाहुल्यता छ । सरकारमा जानु मूल आशय हो उहाँहरूको । त्यसैले, छठपछि समर्थन फिर्ता गर्ने भन्ने राजपाका त्यही नेताहरूले बोल्थे, तिनको बोली अहिले बदलिएको सुन्दैछु । त्यही नेताहरूले यसमा विचार विमर्श गर्नुपर्छ लगायतका कुराहरू गरिरहेका छन् । त्यो सरकारमा जाने तयारी मात्र हो ।

० भनेपछि, छठपछि समर्थन फिर्ता लिने, आन्दोलन गर्ने लगायतका धम्की एउटा बार्गेनिङ्ग प्वाइन्ट मात्र थियो ?

— बार्गेनिङ्ग पनि होइन, त्यो एउटा कुण्ठा थियो । सरकारमा जान नपाएको कुण्ठाको अभिव्यक्ति थियो । फोरम त त्यो कुण्ठा तोडेर सरकारमा गइसक्यो । जबकि फोरमका उपेन्द्र यादवले संविधान संशोधन होइन पुनर्लेखन नै गर्नुपर्छ भन्ने नारा लिएर अगाडि बढ्नुभएको थियो । हामी मोर्चामा बस्दा उहाँले पुनर्लेखन गर्नुपर्छ, यो संविधान त कामै लाग्दैन भन्ने मान्छे केही पनि नभइकन सरकारमा देखा परिराख्नुभएको छ । त्यसकारणले यो एउटा प्रवृत्ति छ । यस प्रवृत्तिबाट मधेश आन्दोलन र मधेश राजनीति अलि बढी पीडित भएको देखिन्छ ।

० फोरम जसरी संविधान संशोधनका लागि सहमति गरेर सरकारमा गयो, उसको भूमिका कस्तो देखिरहनु भएको छ ? 

— फोरमको त कुनै भूमिका नै देखा परेको छैन । संसदमा न त राजपाले बोलेको देख्छु न त फोरमले । सरकारमा गएपछि फोरमको बोली स्वतः बन्द भएको हो । तर, राजपाले समर्थन गरेको थियो र बोल्न सक्थ्यो तर खासै भूमिका देखिदैँन । त्यसकारणले यिनीहरूको विवेचना योग्य भूमिकै छैन ।

० भनेपछि, फोरमको सहमति सत्तायात्राका लागि मात्रै थियो ?

— देखा त त्यही पर्दैछ । योभन्दा थप के भनुँ ।

० जतिबेला तपाइँहरूले मधेशका ६ वटा दलहरूलाई एकीकृत गर्नुभयो, त्यो बेला फोरम आउन चाहेन तर अहिले एकीकरणको कुरा गर्दैछ । फोरमको यो के रणनीति हुनसक्छ ?

— एउटा तुक्का फाल्ने काम गर्छन्, त्यसमध्ये यो पनि एउटा तुक्का नै हो । तर, बेतुकको तुक्का हो यसमा दम छैन । उहाँहरू इमान्दारीपूर्वक एकीकरणको प्रयास गर्नुहुन्न ।

० प्रदेश २ लाई कसरी हेरिरहनुभएको छ ?

— प्रदेश २ मा अहिले जातिवाद यति घनीभूत भएर गएको छ कि मधेशी को हो छुट्याउन गाह्रो भइसक्यो । हिजो मधेशी एउटा इकाई थियो । तिनलाई नेताहरूले आआफ्ना जातमा बाँडेर छिन्नभिन्न पारिसके । सबै त्यहाँ आआफ्नो जातीय राजनीति गरिरहेका छन् ।

० भनेपछि प्रदेश २ जातीय अखाडा बनिसक्यो ?

— प्रदेश २ जातीय अखाडाको रूपमा बढ्दै गइरहेको छ । किनभने जुन नेतासँग विचार, सिद्धान्त हुँदैन उसले संगठनको सहारा सस्तो चीजबाट गर्छ । सस्तो चीज भनेको जाति हो ।

० सरकारको कुरा गरौं, ओली नेतृत्वको सरकारले संविधान संशोधन गर्छ त ?

— हेर्नुस्, यो संविधानलाई सही ढंगले कार्यान्वयन गर्नका लागि पनि संशोधन जरूरी छ, जुंगाको लडाईको नमान्ने हो भने । जुंगा नभएकाहरूले जुंगाको लडाई धेरै गर्छन् । यो संविधान सफलतापूर्वक कार्यान्वयनका लागि ठाउँठाउँमा संशोधनको आवश्यक्ता छ । मैले हेर्दा ८८ ठाउँमा संशोधनको आवश्यक्ता देखेको छु । म जोसँग पनि यस विषयमा तर्क गर्न तयार छु । संविधान संशोधन भन्ने कुराबाट बढी त्रसित हुनुको मतलब संविधानको समाप्तिको यात्रातर्फ जानु हो । २०४७ सालको संविधानलाई पनि बाइबल, कुरान, गीता भन्दै जपेर बस्ने साथीहरू पनि थिए तर त्यो संविधान कहिले गयो थाहै पाएनन् । मलामी पनि जान पाएनन्, श्रद्धाञ्जलीसभा पनि गर्न पाएनन् । त्यस्तै हविगत यो संविधानको पनि नगरून् भनेर उहाँहरूलाई अनुरोध हो ।

० तर, यो सरकारले संशोधन गर्छ ?
— आवश्यक्ता त छ । संविधान निर्माण गर्ने प्रमुख शक्तिहरूले नै दुईटा विषयमा संशोधन गरेकै हुन् । जबसम्म उहाँहरूको काममै बाधा तड्कारो रूपमा पर्दैन, उहाँहरू आफै जोखिममा आउनु हुन्न तबसम्म गर्दैन । यो नेपालीहरूको पूरानो रोग हो र कायम छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ